मंगलबार, वैशाख ११, २०८१
13:57 | १८:४२

बेलायतका पूर्व काउन्सिलर गुरुङको गीतलाई एकै दिन दुई अवार्ड

नेपाली लिङ्क अप्रिल १०, २०२१

लन्डन । बेलायतस्थित पूर्व काउन्सिलर एवम् गायक धनकिरण गुरुङको पछिल्लो गीतले दुई राष्ट्रिय अवार्ड जितेको छ ।  

‘तिमी र म’ बोलको गीतले शुक्रबार काठमाडौंमा सम्पन्न दुई फरक अवार्ड समारोहमा छुट्टाछुट्टै  विधामा अवार्ड पाएको गुरुङले जानकारी दिए ।  

‘११ औं विन्ध्यावासिनी म्यूजिक अवार्ड’ मा ‘तिमी र म’ गीतबाट गायक गुरुङले वर्षकै उत्कृष्ट पप गायकको अवार्ड जितेका छन् । गीतका म्यूजिक भिडियो निर्देशक प्रभु गुरुङले अवार्ड बुझेका थिए ।

अवार्ड ग्रहण गर्दै म्यूजिक भिडियो निर्देशक प्रभु गुरुङ

त्यस्तै, सोही गीतको म्यूजिक भिडियोमार्फत् निर्देशक प्रभु गुरुङले ‘ज्योति फिल्म अवार्ड’ मा उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । निर्देशक गुरुङ पनि पछिल्लो समय बेलायतमै रहेर म्यूजिक भिडियो निर्देशनमा सक्रिय छन् ।  

गायक गुरुङले ‘तिमी र म’ बोलको गीतले एकैदिन दुई राष्ट्रिय अवार्ड पाउंदा आफू निकै उत्साहित बनेको सुनाए ।  

भूतपूर्व गोर्खा सैनिक एवम् बेलायतमा नेपाली मूलको पहिलो काउन्सिलर समेत रहेका उनले नेपाली लिंकसँग भने, ‘लामो सैनिक जीवन र सक्रिय राजनीतिक करियरपछि म जुन प्रेरणाले संगीतमा होमिएको थिएँ, त्यही यात्रामा यस्ता अवार्ड, सम्मानले हौसला र उर्जा थपेको महसुश गराउंदो रहेछन् ।‘

झापाको काकडभिट्टामा जन्मिएका गुरुङ सन् १९८७ मा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । पल्टनमा छंदा पनि उनी  गीतसंगीतमार्फत मनोरन्जन दिन सधैं अग्रसर रहे ।  

सन् १९९० मै हिमालयन ब्याण्ड (टु) यूके स्थापना गरेर सांगीतिक यात्रामा अघि बढेका गुरुङका हालसम्म दुई सय बढी गीत सार्वजनिक छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू