शनिबार, भदौ २२, २०८१
16:22 | २१:०७

नर्दन आयरल्याण्डमा भड्कियो हिंसा, झल्कियो ब्रेक्जिट डिलप्रतिको बेखुशी

नेपाली लिङ्क अप्रिल ८, २०२१


लन्डन । नर्दन आयरल्याण्डमा पछिल्लो केहि दिनदेखि कायम तनाव हिंस्रक बन्दै गएको छ । स्थानीय युनियनिस्ट पार्टी र नेश्नालिस्ट पार्टी समर्थकहरुबीचमा देखिएको तनाव झन् उत्तेजक बन्दै गएको छ ।

बुधबार गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेर जलाइएको छ । सात जना प्रहरी अधिकृत घाइते भएका छन् । गत महिनाको अन्त्यतिर तनाव शुरु भएयता ५० बढी प्रहरी घाइते भएको जनाइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले हिंस्रक गतिविधिको भत्सर्ना गरेका छन् । उनले फरक मतहरु भएपनि शान्तिपूर्ण रुपमै सहमति खोजिनुपर्ने बताएका छन् । हिंसाकै रुपसम्म फैलिएको तनावको खास कारण भने अझै स्पष्ट छैन ।

नर्दन आयरल्याण्ड लेबर पार्टीको राज्य कमिटिका कार्यकारी समिति सदस्य एवम् एथ्निक कम्युनिटी अफिसर विकास चुडालका अनुसार अहिलेको तनावपूर्ण अवस्थाका पछि जटिल र बहुकारणहरु छन् । तर पछिल्लो उत्प्रेरक हालै सम्पन्न ब्रेक्जिट डिल नै हो । ब्रेक्जिट डिलपछि नर्दन आयरल्याण्डले आफूलाई पहिलाभन्दा फरक पोजिसिनमा उभिएको महसुश गरेको छ । अहिले देखिएको तनावका पछाडि त्यही डीलप्रतिको बेखुशी कारक देखिन्छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघसंग सहमति गरेको ब्रेक्जिट डिलपछि नर्दन आयरल्याण्ड र बेलायतका अन्य राज्यहरुबीचको दूरी झन् बढेजस्तै भएको छ ।

ब्रेक्जिटपछि पनि नर्दन आयरल्याण्ड र आयरल्याण्डबीचको बोर्डर खुला छ जहाँबाट स्वतन्त्र रुपमा आवतजावत भइरहेको छ । ‘युरोपेलीहरु नर्दन आयरल्याण्डसम्म स्वतन्त्र रुपमा आउन सक्ने भएपछि उनीहरु त्यहाँबाट बेलायतका अन्य राज्यमा आउन सक्ने सम्भावनालाई लक्षित गरी नर्दन आयरल्याण्ड र अन्य राज्यबीच अघोषित बोर्डर चेकजाँचको अवस्था उत्पन्न भएको छ’, चुडाल भन्छन्, ‘जसकारण नर्दन आयरल्याण्डलाई आफू बेलायतको मेन ल्यान्डबाट अलग भएको महसुश भएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू