शुक्रबार, वैशाख १४, २०८१
12:44 | १७:२९

बेलायतको लोकप्रिय ‘नेपाली घरभाडा ग्रुप’ एकाएक गायब

पुरानै ग्रुपका एड्मिनले ल्याए नयाँ ग्रुप

नेपाली लिङ्क अप्रिल ८, २०२१

लन्डन । घर भाडामा लिन होस् वा दिन । कुनै जागिरको खोजीमा होस् वा स्टाफको । घरमै बनाएका मम, सेलरेटीदेखि पुराना गाडी, फर्निचरहरु खरिद बिक्री गर्न, बेलायतको इमिग्रेसनदेखि एनएचएससम्मका सूचना र अनुभवहरु बाँड्न ।

बेलायतका नेपालीहरुमाझ आवश्यक सबै खाले जानकारी र सूचनाहरु आदानप्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको फेसुबक ग्रुप अहिले एकाएक ‘बन्द’ भएको छ ।

‘बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ नामक फेसबुक ग्रुप मंगलबार बेलुकादेखि एकाएक गायब बनेको एडमिन शिव पराजुलीले बताए । ग्रुप बन्द भएकोमा उनी चिन्तित त छन् नै, यसबारे फेसबुकले आफूलाई कुनै जानकारी समेत नगराएकोमा झन बढि आश्चर्यचकित भएका छन् ।

८ वर्षभन्दा लामो समयदेखि पराजुलीले सञ्चालन गर्दै आएको ग्रुपमा बेलायतबासी २७ हजार नेपाली मेम्बर थिए । दैनिक सय बढि मेम्बरले विभिन्न सूचना र जानकारीसहितका पोस्टहरु राख्थे, कतिपयले सूचना खोज्दै पोस्टहरु गर्थे । सान्दर्भिक पोस्टहरु मात्रै एड्मिनले एप्रुभ गर्थे र सबै मेम्बरहरुमाझ पुर्याउँथे ।

मेम्बरहरुको संख्याले मात्र होइन, सहभागिताका हिसाबले पनि फेसबुकमा बेलायतका नेपालीहरुको सबैभन्दा ठूलो र सक्रिय प्लेटफर्म थियो यो ग्रुप ।

ग्रुप बन्द भएलगत्तै यसका कयौं मेम्बरहरुबाट लगातार टेलिफोन आइरहेको एड्मिन पराजुलीले बताए । ‘म आफै पनि आश्चर्यमा छु, कसरी ग्रुप हरायो भन्ने बुझ्न सकेको छैन । फेसबुकलाई पत्र पठाएर सोधीखोजी गरेको छु, उनीहरुले जवाफ पठाएपछि कारण थाहा होला’, उनले भने ।

फेसुबकले प्रकाशनलाई अनुमति नदिने, कसैको मानहानी हुने, नोक्सानी पुर्याउने, घृणा फैलाउने जस्ता आपत्तिजनक पोस्टहरु आउँदा एड्मिनबाटै रोकिने गरेको सुनाउँदै पराजुलीले भने, ‘ग्रुप बन्द नै हुनुपर्ने कुनै कारण म देख्दिन । कुनै प्राविधिक कारणले अहिले हराएको भएपनि पछि फिर्ता आउँछ कि भन्ने आशा पनि छ ।’

पुरानै ग्रुपका एड्मिनले ल्याए नयाँ ग्रुप

हजारौं मेम्बरहरुको नियमित सहभागिता रहने ग्रुप बन्द भएपछि एड्मिन पराजुलीले सोहि नामको अर्को फेसबुक ग्रुप सञ्चालनमा ल्याइसकेका छन् ।’ बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ नामको नयाँ ग्रुपमा जोडिन उनले बेलायतवासी सम्पूर्ण नेपालीललाई आव्हान गरेका छन् ।

‘अहिले तत्कालको लागि यहि ग्रुपमा जोडिनुहुन म सबैलाई आग्रह गर्दछु । पहिलाको ग्रुपमा जस्तै जानकारी र सूचनाहरु यो नयाँ ग्रुपबाट लिन वा शेयर गर्न सक्नुहुनेछ । हामी पुरानो ग्रुपबारे पनि बुझ्ने र सुचारु गराउने हरसम्भव कोशिस जारी राख्नेछौं’ , उनले भने ।

वर्षौंअघि शुरु गरेर मेहनतपूर्वक बिस्तार गरेको ग्रुप एकाएक गुमाउनुपर्दा एड्मिन पराजुली निकै दुखी छन् । उनी भन्छन्, ‘मैले यो ग्रुपमार्फत पछिल्ला ८ वर्षमा बेलायतका नेपालीहरुलाई सक्दो सहयोगको प्रयास गरेको छु । त्यसैले मलाई आशा छ, अब नयाँ ग्रुपमा पनि सबैजना जोडिएर हामीलाई पूर्ववत अवस्थामै पुर्याउन सबैले सहयोग गर्नुहुनेछ ।’

पुरानै ग्रुपका एड्मिनले सञ्चालनमा ल्याएको ग्रुप बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु को लिंक तल छ । यही लिंकमा क्लिक गरेर ग्रुपमा जोडिन सकिनेछ ।

बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू