शुक्रबार, चैत १६, २०८०
19:39 | ०१:२४

बेलायतमा कोभिडविरुद्धको तेस्रो खोप ‘मोडर्ना’ को वितरण शुरु

'मोडर्ना' खोपको प्रभावकारिता ९४ प्रतिशत बढी

नेपाली लिङ्क अप्रिल ७, २०२१

बेलायतमा ‘मोडर्ना’ खोपको पहिलो डोज लिंदै वेल्सकी २४ वर्षीया एली टेलर ।

लन्डन । बेलायतमा कोभिडविरुद्धको तेस्रो खोप कम्पनी ‘मोडर्ना’ को पनि  वितरण शुरु भएको छ ।

अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोप बुधबारदेखि वेल्समा वितरण गर्न थालिएको हो । बेलायतमा यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण भइरहेको छ ।

वेल्सको कार्मादनशायरबाट मोडर्ना खोप दिन शुरु गरिएको हो । २४ वर्षीया एली टेलरले बेलायतमा मोडर्नाको पहिलो डोज लिएकी छन् । स्थानीय खोप केन्द्रहरुमा ५ हजार डोज पठाइएको जनाइएको छ ।

वेल्समा बुधबारदेखि शुरु भएको मोडर्ना खोप अबको केहि साताभित्र बेलायतका अन्य राज्यमा पनि बाँडिने बताइएको छ । स्कटल्याण्डमा समेत खोपको पहिलो लट पुगिसकेको छ ।

यसअघिका फाइजर र एक्सट्राजेनेका जस्तै मोडर्ना खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ । दुवै डोजपछि खोपको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहने बताइएको छ ।

बेलायतले मोडर्ना खोपको १ करोड ७० लाख डोज अर्डर गरिसकेको छ । बेलायतले हालसम्म विभिन्न ७ कम्पनीद्धारा उत्पादित कोभिड खोप अर्डर गरेको छ ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मोडर्ना खोप बेलायतको महामारीविरुद्धको लडाईंमा अर्को महत्वपूर्ण खुड्किलो भएको बताएका छन् ।

बेलायतले खोपकै सहायताले महामारीलाई जित्दै गइरहेका बेला शुरु भएको अर्को खोपको वितरणले नयाँ उत्साह र उर्जा थपेको उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू