शनिबार, साउन १२, २०८१
02:54 | ०७:३९

बेलायत कोरोना अपडेट: ६० प्रतिशतले लगाए पहिलो डोज  

२४ घन्टामा २० संक्रमितको मृत्यु

नेपाली लिङ्क अप्रिल ६, २०२१

लन्डन । आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउलाई थप खुकुलो पार्ने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार दिएको आश्वासनले इंग्ल्याण्डवासी निकै उत्साहित बनेका छन् ।

बेलायतमा कोरोना संक्रमणको प्रभाव निरन्तर ओरालो लाग्दै गएपछि लकडाउन सहज हुनेमा थप बल पुगेको छ । पछिल्ला केहि दिनयता मृतक, संक्रमित र अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर कमी आएको छ ।

सोमबार सार्वजनिक तथ्यांक अनुसार बितेको २४ घन्टामा २० जना कोरोना संक्रमितको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८८२ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार तीन सय ७९ नयां संक्रमित थपिएका छन् । यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६४ हजार ५२९ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।

६० प्रतिशतलाई दिइयो खोपको पहिलो डोज

बेलायतमा ६० प्रतिशत वयस्कलाई खोपको पहिलो डोज दिइसकिएको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार जानकारी दिएका छन् । यसैगरि १०.४ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाएको पनि उनले उनले बताए ।

कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७१ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७१ लाख १९ हजार ८३ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड १६ लाख २२ हजार ३६७ जनाले खोपको पहिलो डोज लिएका छन् भने ५४ लाख ९६ हजार ७१६ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू