मंगलबार, वैशाख ११, २०८१
13:20 | १८:०५

बेलायतको स्थानीय निर्वाचनमा प्रतिष्पर्धा गर्दै नेपालीहरु

नेपाली लिङ्क अप्रिल ६, २०२१

लन्डन । बेलायतमा आउंदो ६ मेमा हुन गइरहेको स्थानीय निर्वाचनमा दुई नेपाली काउन्सिलर पदका लागि मैदानमा उत्रिएका छन् ।

नेपालीको सबैभन्दा बढी जनघनत्व भएको रसमोर बरो काउन्सिल अन्तर्गत अल्डरसटको वेलिङ्टन वार्डबाट जीव बेल्वासे र फार्नबोरोको चेरीउडबाट नेम थापाले उम्मेदवारी दिएका हुन् । उनीहरु दुवै सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट प्रतिष्पर्धामा छन् । 

कोभिड १९ महामारीका कारण घर घरमै गएर मतदातासंग प्रत्यक्ष मत माग्न सम्भव नभएपछि नेपाली उम्मेदवारहरु लिफ्लेट वितरणसहित सामाजिक सञ्जाल, इमेल वा टेलिफोन आदि माध्यमबाट मत लिने प्रयत्न गरिरहेका छन् ।

वेलिङ्टनबाट टिकट पाएका बेल्वासे विगत दुई दशकदेखि निरन्तर अल्डरसटमा छन् । ग्रेटर रसमोर नेपलिज कम्युनिटीको अध्यक्ष भइसकेका उनले समुदायका लागि बाहिर बसेर धेरै योगदान गरेपनि अब काउन्सिलर भएरै सेवा गर्न चाहेको बताए । 

नेपालीहरुले पाउनुपर्ने सुविधा दिलाउन, बेलायती समुदायसंग नेपाली समुदायको घुलमिल, नगर विकासमा पहल, जातीय पहिचानलाई अझ स्थापित गर्न आफ्नो प्राथमिकता रहने उनी बताउंछन् । 

’स्थानीय बेलायतीहरु हाम्रो धेरै विश्वास र भरोसा गर्छन् । गोर्खाहरुको योगदान र इमान्दारीले पनि मलाई सफलता मिल्ने आत्मविश्वास छ’, बेल्वासेले भने । 

बेल्वासे उठेको वार्डमै अहिले नेपालीमुलका प्रवेश केसी काउन्सिलर छन् । 

उता, रसमोरको फार्नबोरो चेरीउड वार्डबाट काउन्सिलरमा उठेका नेम थापा पनि केही एजेन्डा बोकेर चुनावी मैदानमा होमिएका छन् । 

रसमोर बरोमा रहेका नेपालीमध्ये २० प्रतिशतभन्दा बढी चेरीउडमा छन् । नेपालीको जनघनत्व भएको ठाउंमा एकजना नेपाली पनि काउन्सिलर नबनेकाले त्यसको प्रतिनिधित्व गर्न, दोश्रो पुस्ताका नेपालीलाई राजनीतिमा प्रेरित गर्न, कतिपय मानिसहरु गरिवी मुनी रहेको उक्त वार्डमा उद्यमशीलता, स्वरोजगार र सीपयुक्त जनशक्ति सृजनामा पहल गर्न र नेपालीको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको थापाले बताए । ‘यहां लेबरकै पकड भएकाले चुनौति पनि छ । तर आत्मबल बलियो बनाएको छु’, थापाले भने । 

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका उपाध्यक्ष थापा नेपाल मगर संघ यूकेका पूर्व अध्यक्ष पनि हुन् । उनले समुदायका लागि विगत देखि नै काम गरिरहेको बताए ।

रसमोर बरोमा १३ वडा छन् र प्रत्येक वडामा तीनजना काउन्सिलर हुनेछन् ।

आउंदो महिना इंग्ल्याण्डमा १४३ काउन्सिल (करिब ५ हजार सिटका लागि), स्कटिस संसदमा १२९ सिट, वेल्सको संसदमा ६० सिट, लन्डन एसेम्लीमा २५ सिट, १३ मेयर र ३९ पुलिस एण्ड क्राइम कमिश्नरका लागि निर्वाचन हुंदैछ । ती चुनावहरुमा चार करोड ८० लाख मानिसहरुले  मतदान गर्न पाउने छन्।

स्थानीय राजनीतिमा नेपालीहरुको प्रवेश बढ्दै

बेलायतको मुख्य राजनीतिमा नेपालीको पहुंच अहिलेसम्म नपुगेपनि पछिल्लो समय स्थानीय काउन्सिलमा नेपालीहरुको प्रवेश बढ्दै गएको छ । 

सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीले डा. बच्चु कैलाश कैनीलाई उम्मेदवार बनाएको थियो, तर उनी पराजित भए ।  

स्थानीय राजनीतिमा नेपाली समुदायको सहभागिता बढ्नुलाई सकरात्मक ठान्छन् लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ । ‘यसले स्थानीय समुदायमा  घुलमिल (इन्टिग्रेसन) गर्न ठूलो मद्दत गर्छ । आफ्नो आवाज उठाउन, हक अधिकार लिन र आफ्नो पहिचान स्थापित गर्न यो राम्रो प्लेटफर्म हो’, उनले भने । 

तर, यहांका नेपालीहरु अझै पनि नेपाली राजनीतिमै केन्द्रित भएर स्थानीय समुदायसंग घुलमिल हुन नचाहने समस्या रहेको गुरुङ बताउंछन् । ‘यसमा भाषा समस्या, संस्कार, संस्कृति पनि अवरोध हुन सक्छ’, उनले भने ।   

ब्रिटिश आर्मीमा सेवा गरिसकेका गोर्खाहरु स्थानीय निकायतर्फ बढी आकर्षित भएका पाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू