बिहीबार, वैशाख १३, २०८१
05:19 | १०:०४

गोर्खा सत्याग्रहद्वारा चरणबद्ध आन्दोलन घोषणा

भोक हड्तालदेखि अन्तरराष्ट्रिय अदालतमा मुद्धासम्मको चेतावनी

नेपाली लिङ्क अप्रिल ५, २०२१

काठमाडौँ । संयुक्त गोर्खा सत्याग्रह संघर्ष समिति फेरि आन्दोलनमा उत्रिने भएको छ ।  

संगठनको संयुक्त समिति यूके-नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  

सत्याग्रहले आगामी मे महिनाको शुरुमै बेलायती सरकारलाई अल्टिमेटम पत्र जाहेर गर्ने र तोकिएको मितिभित्र सकारात्मक जवाफ नआए अन्तर्राष्ट्रिय कानुनविदहरु तथा नागरिक समाजको सम्मेलन गर्ने घोषणा गरेको छ ।  

आफ्नो आन्दोलनको सम्मानजनक सुनुवाई नभए जुलाई पहिलो हप्ताबाट रिले भोक हड्ताल बस्ने घोषणा समेत सत्याग्रहले गरेको छ । 

त्यसपछि पनि आफूहरुका मागहरुप्रति उदासीनता कायम रहे अर्को बृहत् सत्याग्रह गर्ने र अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दायर गर्न बाध्य हुने सत्याग्रहले स्पष्ट गरेको छ 

सत्याग्रहका संयोजक एलबी घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अतिथिका रुपमा पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले सम्बोधन गरेका थिए । बेलायतबाट पनि समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।  

भावी आन्दोलनका कार्यक्रमहरुबारे प्रेस रिलिज सचिव पुष्पा घले राणाले पढेर सुनाएकी थिइन् ।  

बेलायतका ६ सय ३८ सांसदलाई अल्टिमेटम पत्र 

प्रमुख संयोजक कृष्णबहादुर राई

पत्रकार सम्मेलनलगत्तै सत्याग्रहले बेलायतको दुवै सदनका ६ सय ३८ सांसदलाई ईमेलमार्फत् अल्टिमेटम पत्र पठाएको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।  

आफ्ना मागहरुको यथोचित सम्बोधनको माग गर्दै पत्रमा सत्याग्रहले चरणबद्ध रुपमा गर्न लागेका आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको छ ।  

‘हामीले फेरि एकपटक हाम्रो आन्दोलनका पक्षमा यहाँका दुवै सदनका माननीयहरुको ध्यानाकर्षण गराएका छौं । यदि यसपटक पनि उहाँहरुले सुनुवाई गर्नुभएन भने हामी कसरी अगाडि बढ्छौं भनेर स्पष्ट जानकारी गराएका छौं’, प्रमुख संयोजक राईले नेपाली लिँकसंग भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू