बुधबार, वैशाख १२, २०८१
23:13 | ०३:५८

चर्चित कलाकारको लाइभ प्रस्तुतिमा लोकदोहोरी प्रतिष्ठान यूकेको ‘भर्चुअल दोहोरी’

नेपाली लिङ्क अप्रिल ५, २०२१

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा दोस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्रतिष्ठानले नेपालमा चर्चित लोक तथा दोहोरी कलाकारहरुको सहभागितामा भर्चुअल लाईभ दोहोरी कार्यक्रम गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले चर्चित लोक दोहोरी गायिका डिला विकसंग २-२ टुक्का दोहोरी गाएर कार्यक्रम उद्घाटन गरेका थिए । त्यसअवसरमा अध्यक्ष बिजीले पछिल्लो समयमा विभिन्न प्रविधिको विकाससँगै गीत संगीतलाई व्यापार गर्न खोज्ने, सस्तो लोकप्रियता कमाउने र भाइरल हुने नाममा लोकसंस्कृति धरापमा पर्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रमकी विशेष अतिथि एनआरएन यूके अध्यक्ष पुनम गुरुङले लोक संस्कृति देशको चिनारी भएको हुनाले यसलाई संरक्षणका लागि व्यक्तिगत तथा संस्थागत तवरबाट सधै साथ रहने प्रतिबद्धता जनाइन् ।

कार्यक्रमका सभापति प्रतिष्ठान यूके शाखाका अध्यक्ष टंक शेरचनले स्वदेश तथा विदेशमा रहेका कलाकारहरूको सम्बन्ध अझ सुमधुर बनाउन र लोक संस्कृतिलाई जगेर्ना गर्न यस किसिमका कार्यक्रमहरुले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरु कुमार गुरुङ, याम पुर्जा, बिल पुर्जा, टंक शेरचन, सीता पौडेल र नर्दन आयरल्याण्डबाट छम रेग्मी र उनीहरुको टोलीले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै, नेपालबाट चर्चित लोक तथा दोहोरी गायक राजु परियार, चन्द्र शर्मा, सुमन थापा, डिला विक, अर्जुन सुनाम लगायत कलाकारहरूको प्रस्तुति थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत उपस्थित रहेको कार्यक्रमलाई व्यवस्थित बनाउन काठमाडौंमा आलाप स्टुडियो व्यवस्था गरिएको थियो । नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकारले आलाप स्टुडियोबाट आफ्नो लाईभ प्रस्तुति दिएका थिए ‌। प्रतिष्ठानका सचिव रत्न शाहीले कार्यक्रम सञ्चालन गरेका थिए । -मनसुधन थापामगर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू