शनिबार, वैशाख ८, २०८१
10:11 | १४:५६

बेलायतमा साइकलयात्रामार्फत बालबालिका तथा वृद्धवृद्धालाई झण्डै ६ लाख सहयोग

नेपाली लिङ्क अप्रिल ४, २०२१

लन्डन । बेलायतका नेपालीले साइकल यात्रा परिकल्पना गरि नेपालमा बालबालिका तथा वृद्धवृद्धालाई झण्डै ६ लाख रुपैयां जुटाएका छन् ।

गैर आवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क तथा नेपाली युथ एशोसिएसनको सहकार्यमा गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद इंग्ल्याण्डले नेपालमा टुहुरा बालबालिका तथा वृद्धाश्रमको सहयोगार्थ संकलन गरेको रकम आइतबार हस्तान्तरण गरिएको छ ।

परिषदले ‘भर्चुअल’ कार्यक्रम गरि हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले रकम हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्कका नेपाल संयोजक अरुण बस्नेत र बुद्ध फाउण्डेशन नेपालका अध्यक्ष रविराज ज्ञवालीले सहयोग रकम ग्रहण गरे । रकम ग्रहणपछि बस्नेतले हेल्प नेपाल र यसका गतिवधिबारे अपडेट गराएका थिए भने रविराजले वृद्धाश्रमको ८० प्रतिशत काम सकिएको बताउंदै केही रकम अझै अपुग रहेको बताए । उनीहरु दुवैले सहयोगका लागि धन्यवाद दिएका छन् ।

प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष गुरुङले संघसमेत संलग्न प्रोजेक्टमार्फत नेपालका बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गर्न पाउंदा गर्व लागेको बताइन् ।

कोभिडका कारण पटक पटक स्थगित हुंदै आएको साइकल राइड आउंदो अप्रिल १७ मा हुने तय छ ।एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको आयोजना रहने दौड वुल्वीच आर्सनल राइडर्स  (वार) क्लबको सहभागितामा हुन लागेको हो ।

कार्यक्रममा सामाजिक अभियन्ता हयारी गुरुङले साउथ इष्ट लन्डनको वुलवीच आर्सनलदेखि ब्राइटनसम्म करिब एकसय किलोमिटर साइकल यात्रा हुने जानकारी दिंदै आफूहरुको ‘वुल्वीच आर्सनल राइडर (वार) क्लब’ बारे जानकारी दिएका थिए ।

गैर आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले सहयोगीप्रति धन्यवाद दिंदै बुद्ध फाउण्डेशन यूकेले कपिलवस्तुमा निर्माण गरिरहेको वृद्धाश्रमबारे अवगत गराए । बेलायतवासी नेपालीहरुको सहयोगका कारण भविष्यमा पनि यस किसिमका परोपकारी कार्यक्रम गर्न प्रेरणा मिलेको श्रेष्ठले बताए ।

सो अवसरमा क्याट यूकेका अध्यक्ष जीवन सेनले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन नेपलिज युथ एसोसिएसन यूकेका अध्यक्ष लक्षुमण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई, वार क्लवका प्रसिद्ध प्रधान, सचिन श्रेष्ठ, सुरज गुरुङ लगायत सञ्चारकर्मी र शुभेच्छुकहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू