शुक्रबार, चैत १६, २०८०
06:44 | १२:२९

बेलायतमा सेप्टेम्बरपछिकै कम मृत्यु

५२ लाख बढीले लिए खोपको दुवै डोज

नेपाली लिङ्क अप्रिल ३, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक संख्या गत वर्ष सेप्टेम्बर १४ यताकै कम भएको छ । पछिल्लो २४ घन्टामा १० जनाको मात्र मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८२६ पुगेको छ ।

हाल बेलायतमा ‘इष्टर होलिडे’ परेकाले कोरोनाभाइरस अपडेट नियमित भएपनि वास्तविक तथ्यांकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी बितेको २४ घन्टामा ३ हजार चार सय २३ नयां संक्रमित थपिएका छन् । यससंगै संक्रमितको कुल संख्या ४३ लाख ५७ हजार ९१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्यामा क्रमश: ह्रास आउंदै गएको छ ।

५२ लाख भन्दा बढीलाई दिइयो खोपको दुवै डोज

बेलायतमा कोरोना भाइरस विरुद्धको खोपको दुवै डोज लगाउनेको संख्या ५२ लाख नाघेको छ । जस अनुसार १८ वर्षमाथिका ९.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेका छन्  ।

शनिबारसम्मको तथ्याँक अनुसार हालसम्म ५२ लाख पांच हजार ५०५ जनाले खोपको दुवै डोज लगाएका छन् ।

खोपको पहिलो र दोस्रो गरि तीन करोड ६६ लाख ३१ हजार १८७ डोज वितरण भएको छ । तीन करोड १४ लाख २५ हजार ६८२ जनाले खोपको पहिलो डोज लिएको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू