शुक्रबार, वैशाख १४, २०८१
14:24 | १९:०९

बेलायतमा अक्सफोर्ड-एष्ट्राजेनेका खोप लगाउने सातको मृत्यु, विज्ञहरु चिन्तित

नेपाली लिङ्क अप्रिल ३, २०२१

लन्डन । बेलायतमा अक्सफोर्ड-एष्ट्राजेनेका खोप लगाउने केहि व्यक्तिमा देखिएको ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने समस्याका कारण विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्  ।

उक्त खोपका कारण बेलायतमा सात जनाको मृत्यु समेत भइसकेको छ । यद्यपि कोरोना संक्रमण रोक्न खोप प्रभावकारी नै रहेको एमएचआरए, युरोपियन मेडिसिन एजेन्सी र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।

बेलायतमा ३० जनामा रगत जम्ने समस्या भएको र सोहि समस्याका कारण सात जनाको मृत्यु भएको  नियामक निकायले बताएको छ । तर, यो समस्या वास्तविक खोपको कारण हो वा संयोगमात्र हो भन्ने बारेमा अझै स्पष्ट भैसकेको छैन ।

ठूला स्वास्थ्य एजेन्सीहरुले भने यसबाट देखिने खतराभन्दा फाइदा बढी भएको आश्वाशन दिन हतारिएका छन् । खोपका कारण हुने मृत्यु अत्यन्तै न्यून रहेको युनिभर्सिटी अफ इष्ट एन्जिलाका मेडिसिन प्रोफेसर पाउल हन्टरले बताएका छन् ।

अक्सफोर्डको खोप लगाउने मानिसहरुमा भन्दा खोप नलगाएका मानिसहरु अत्यधिक जोखिममा रहेको उनले बताए । उनले भने, ‘म आफ्नो खोपको अर्को डोज बन्द गर्नेछैन ।’

कतिपय मुलुकहरुले अक्सफोर्डको खोप लगाउन रोक लगाएका छन् भने कतिपय मुलुकले खोपलाई पुन: निरन्तरता दिन थालेका छन् ।

जर्मनी, फ्रान्स, नेदरल्याण्ड र क्यानाडाले वृद्ध मानिसहरुलाई अक्सफोर्डको खोप प्रयोग गर्न रोक लगाएका छन । बेलायतको नियामक निकाय प्रमुख डा जुन रैनेले एजेन्सीहरुले यसको अध्ययन गरिरहेका तर खोपलाई भने निरन्तरता दिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू