शुक्रबार, वैशाख १४, २०८१
11:30 | १६:१५

बेलायतमा संक्रमित संख्या निरन्तर घट्ने क्रममा

३ करोड ६२ लाख बढी खोप वितरण

नेपाली लिङ्क अप्रिल २, २०२१

लन्डन । बेलायतमा बितेको २४ घन्टामा ३ हजार चार सय दुईजना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको छ । विगतका दिनहरुमा चार हजार भन्दा माथि रहँदै आएको संक्रमित संख्या शुक्रबार चार हजार भन्दा तल झरेको हो ।

यद्यपि बेलायतमा कोरोना संक्रमण मापक दर भने गत हप्ताको तुलनामा बढेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबारको तथ्याँक अनुसार संक्रमण मापन दर (आर) नम्बर ०.८ देखि १ को बीचमा पुगेको छ, जबकी यो संख्या गत हप्ता ०.७ देखि ०.९ को बीचमा थियो ।

बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८१६ पुगेको छ ।

हाल बेलायतमा ‘इष्टर होलिडे’ सार्वजनिक विदाको समय चलिरहेको हुँदा कोरोनाभाइरस सम्बन्धि नियमित अपडेट भएपनि वास्तविक तथ्यांकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा छ ।

अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । शुक्रबार सार्वजनिक तथ्याँक हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५१७ छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २७३ संक्रमित अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या तीन हजार ७२३ छ ।

३ करोड ६२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ६२ लाख ४९ हजार ९०२ डोज वितरण भएको छ ।

तीन करोड १३ लाख १ हजार २६७ जनाले खोपको पहिलो र ४९ लाख ४८ हजार ६३५ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू