शुक्रबार, चैत १६, २०८०
15:05 | २०:५०

लन्डनमा नेपालीभाषी बर्मेलीले ‘कू’ विरुद्ध गरे प्रदर्शन

नेपाली लिङ्क अप्रिल २, २०२१


लन्डन । म्यान्मारको सैनिक कू विरुद्ध नेपालीभाषी बर्मेलीले लन्डनमा प्रदर्शन गरेका छन् । बिहीबार बेलायती संसद भवनबाहिर आयोजित संयुक्त प्रदर्शनमा नेपालीभाषीको पनि सहभागिता रहेको हो ।

गोर्खा सोसाइटी अफ म्यान्मार यूकेले अन्य १० जातीय तथा सामुदायिक संस्थासंगै प्रदर्शनमा भाग लिएको सोसाइटीका उपाध्यक्ष नमराज ज्ञवालीले जनाए । नेपालीभाषीहरु दौरा सुरुवाल र ढाका टोपीमा उपस्थित थिए ।

संसद भवन अगाडि विभिन्न नारा र प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेपछि बेलायती विदेशमन्त्री डोमिनिक राबलाई एक ज्ञापनपत्र समेत बुझाइएको छ । गोर्खा सोसाइटीका तर्फबाट ज्ञापन बुझाउन बाबा रायमाझी, पुजा पाण्डे र ज्ञवाली विदेश मन्त्रालय गएका थिए ।

विदेशी मन्त्रीका प्रथम सचिवमार्फत ब्रिटेनलाई बुझाइएको ज्ञापनपत्रमा असंवैधानिक सैनिक कू र मानवअधिकार हननविरुद्ध कडा कदम चाल्न बेलायतलाई आग्रह गरिएको छ ।

ज्ञापनमा म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हात हतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा ‘सुरक्षाको जिम्मेवारी’ को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।


म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएपछि चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्था जनतालाई क्रुरतापूर्वक हत्या र पक्राउ गरिरहेको छ । सुरक्षाकर्मीको गोलीबाट त्यहां ५ सय बढी प्रदर्शनकारीको निधन भइसकेको छ भने अन्तर्राष्ट्रिय रुपमा सैनिक कदमको तीव्र भर्त्सना भएको छ ।

‘हामी बेलायतमा रहेपनि आफ्नो मातृभूमिमा रगतको खोलो देख्दा मन बेचैन छ’, ज्ञवालीले भने, ‘सेनाले खोसेको प्रजातन्त्र नफर्किएसम्म आन्दोलन जारी रहन्छ र हाम्रो ऐक्यवद्धता अनि साथ पनि छ ।’


ज्ञवालीले घाइते प्रदर्शनकारीको उपचार सहयोगका लागि बेलायतबाट आफूहरुले ५ हजार पाउण्ड बढी पठाइसकेको बताए । ज्ञवालीका भनाइमा सेनाले अहिलेसम्म नेपालीभाषी ३५ जनालाई पक्राउ गरेको छ भने दुई जना मारिएका छन् ।

‘बेलायतमा नेपालीभाषी बर्मेली करिब १२० घरपरिवार छन् । हामी प्रवासमा रहेपनि बाबु बाजेको विरासत र मातृभाषा भुलेका छैनौं’, ज्ञवाली भन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू