शुक्रबार, चैत १६, २०८०
07:46 | १३:३१

गोर्खाका पक्षमा बेलायतमा राजनीतिक दबाब सिर्जना गर्ने काउन्सिल लिडरको प्रतिबद्धता

नेपाली लिङ्क अप्रिल १, २०२१


लन्डन । बेलायतस्थित रश्मोर बरोका काउन्सिल लिडर डेभिड क्लिफोर्डले भूतपूर्व गोर्खाहरुमाथि विभेद अस्वीकार्य रहेको भन्दै यसको अन्त्यका लागि अभियान अघि बढाउने प्रतिबद्धता गरेका छन् ।

बिहीबार बिहान बेलायतस्थित भूतपूर्व गोर्खानिकट संस्थाका अभियन्ताहरुसंगको छलफलमा उनले राजनीतिक तहमा दबाब सिर्जना गर्न कुनै कसर बाँकी नछोड्ने विश्वास दिलाए ।

बेलायतमा सबैभन्दा धेरै गोर्खाहरुको बसोबास रहेको रश्मोर क्षेत्रका काउन्सिल लिडर हुनुमा आफूलाई ठूलो गौरव रहेको बताउँदै काउन्सिल लिडर क्लिफोर्डले भने, ‘हाम्रो देशको लागि यति ठूलो योगदान र बलिदानी गर्ने गोर्खाहरुमाथि कुनै पनि खालको अन्यायपूर्ण व्यवहार हामीलाई सह्य हुँदैन ।’

भूतपूर्व गोर्खाहरुको मुद्धालाई सम्बन्धित मन्त्री र प्रधानमन्त्रीकै तहसम्म पुर्याउने आफ्नो योजना सुनाउँदै उनले गोर्खा अभियन्ताहरुबाट आवश्यक सहयोग र सल्लाहको अपेक्षा गरेको बताए । आफ्नै दल कञ्जरभेटिभको नेतृत्वमा सरकार रहेको सहज अवस्थालाई सदुपयोग गरेर नेता तथा मन्त्रीहरुमाथि पर्याप्त दबाब बढाउन सकिने विश्वास उनले व्यक्त गरे ।

त्यसअवसरमा बिजिडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र देवान, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, एनआरएनए आइसीसी गोर्खा टास्कफोर्स संयोजक लेफिटनेन्ट चन्द्र गुरुङ, एनआरएनए यूके उपाध्यक्ष एवम् गोर्खा विभाग प्रमुख प्रेम गाहा, नेसाका अध्यक्ष केशबहादुर गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष रामधन राईसहित मीनबहादुर गुरुङ, ओमप्रसाद थापा, महेन्द्र लिम्बू, प्रकाश गुरुङ लगायतका अभियन्ताहरुले आफ्ना धारणाहरु राखेका थिए ।

अभियन्ताहरुले गोर्खाहरुको पक्षमा काउन्सिल लिडर क्लिफोर्डले शुरु गरेको अभियानका लागि धन्यवाद दिंदै आफ्ना सुझावहरु राखे । राजनीतिक तहमा दबाब बढाउन सके मात्रै गोर्खाहरुको समस्या समाधान सम्भव रहेकाले क्लिफोर्डको अभियान उपयोगी हुने आशा उनीहरुको थियो ।

इमिग्रेसन समस्याका कारण कयौं गोर्खाका सन्तान बेलायत आउन नपाएको र वृद्धावस्थाका बाबुआमालाई विभिन्न खालका सहयोग जरुरी रहेकोतर्फ पनि काउन्सिल लिडरको ध्यानाकर्षण गराइएको थियो ।

काउन्सिल लिडर र गोर्खा अभियन्ताहरुबीच छलफलको संयोजन आउँदो मे पहिलो साता हुने स्थानीय निर्वाचनमा अल्डरसटका काउन्सिलर उम्मेदवार जीव बेल्वासेले गरेका थिए । कार्यक्रममा ‘मोडरेटर’ को भूमिका रश्मोर बरोका डेपुटी काउन्सिल लिडर केनले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू