शुक्रबार, चैत १६, २०८०
20:50 | ०२:३५

बेलायतमा महामारी र लकडाउनकै बेला पनि पाउन सकिन्छ काम

अहिले पनि छन् रोजगारीका अवसर

नेपाली लिङ्क मार्च ३१, २०२१

‘भर्‍याङ रिक्रुटमेन्ट सोलुसन्स्’ का प्रबन्ध निर्देशक प्रभु न्यौपाने

लन्डन । कोरोना भाइरसका कारण सिर्जना भएको महामारीले बेलायतलाई पनि खुबै सतायो । पछिल्लो एक वर्षदेखि निरन्तर लागू लकडाउन र प्रतिवन्धका कारण यहाँको अर्थतन्त्र समेत तहसनहसको अवस्थामा पुगेको छ । 

बेलायतमा कोरोना महामारीबाट प्रभावित व्यवसायहरुलाई टिकाइराख्न र सम्भावित बेरोजगारीलाई रोक्न सरकारले विभिन्न राहत सुविधाहरु व्यवस्था गरेको छ । तर सरकारका तर्फबाट भएका अधिकतम प्रयत्न र सहयोगका बाबजुद सयौं व्यवसायका ढोका सधैंका लागि बन्द भएका छन्, हजारौंले रोजगारी गुमाएका छन् । 

बेलायतमा पछिल्लो समय बेरोजगारी पनि उत्कर्षमा छ । यहाँको राष्ट्रिय तथ्यांक कार्यालयबाट जारी पछिल्लो तथ्यांकअनुसार महामारी शुरु भएयताको अवधिमा मात्रै करिब ७ लाखले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेमध्ये बढी महामारीबाट अति प्रभावित हस्पिटालिटी, रिटेल लगायत क्षेत्रका कामदार छन् । बेरोजगार बन्नेहरुमा युवाहरुको अनुपात पनि निकै छ । 

बेरोजगारी बढ्ने दर यो वर्षभर नै थप वृद्धि हुने आँकलन छ । सन् २०२१ को अन्त्यसम्ममा बेलायतमा बेरोजगारहरुको संख्या २२ लाख सम्म पुग्न सक्ने अनुमान गरिएको छ । सरकारले अहिले वितरण गरिरहेका विभिन्न राहत कार्यक्रमहरुको म्याद सकिएपछि थप बेरोजगारी सिर्जना हुन सक्ने ठानिएको छ । 

अहिले पनि छन् रोजगारीका अवसर

महामारीको टड्कारो असर यहाँको रोजगारीमा परेको तथ्य लुकेको छैन । नयाँ काम खोज्नेहरुको लागि सामान्य अवस्थाभन्दा निकै मुस्किल छ अहिले । 

महामारी र यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनको असर सर्वत्र छ । तर तुलनात्मक रुपमा कुनै व्यवसाय वा क्षेत्र अन्यको तुलनामा बढी प्रभावित छन् । बेलायतमा हस्पिटालिटी, रिटेल लगायतका क्षेत्र बढी असर व्यहोर्न बाध्य छन् । परिणामस्वरुप यीनै क्षेत्रमा कार्यरत धेरै कामदारले आफ्नो रोजगारी गुमाएका छन् । 

धेरैतिर रोजगारीको सम्भावना साँघुरो बनिरहेको बेला केही क्षेत्रमा भने अहिले पनि जनशक्ति माग भइरहेको छ । लकडाउनकै बेलामा पनि यहाँका सुपरमार्केटहरुले दशौं हजार कामदार नियुक्त गरेका छन् । अहिले पनि यहाँका टेस्को, लिडल जस्ता सुपरमार्केटमा रोजगारीका अवसर खुलिरहेका छन् । 

बेलायतमा स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरुलाई पनि रोजगारीका अवसरहरु घटेका छैनन् । यहाँका केयर होम, नर्सिङ होम, जीपी, प्राइभेट अस्पताल लगातका लागि केयर यूकेले भ्याकेन्सी खुलाएको छ । 

अमेजन, हर्मस् लगायतका ठूला कम्पनीले पनि कामदार मागिरहेका छन् । सेक्युरिटी क्षेत्रमा काम गर्न सक्ने जनशक्ति पनि अहिले डिमाण्डमा छ । 

यस्ता थुप्रै क्षेत्रहरु छन्, जहाँ अहिले पनि कामदार आवश्यक परिरहेको छ । अझ कतिमा त सामान्य बेलामा भन्दा पनि थप जनशक्ति माग भइरहेको छ । 

प्रतिकुल अवस्थामा पनि रोजगारीका कयौं अवसरहरु उपलब्ध छन् । तर, ती अवसरहरुको सदुपयोग गर्न सक्ने क्षमता आफूमा विकास गर्न जरुरी छ । 

हरेक क्षेत्र वा जिम्मेवारीमा गतिलो नतिजा आउने गरी काम गर्न समयअनुसार आफ्नो सीप, क्षमतालाई पनि अपडेट गर्दै जानुपर्छ । 

नेपालबाट बेलायत आएलगत्तै यहाँको माग र अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा धेरैलाई अफ्ठेरो पर्ने गरेको पनि पाइन्छ । त्यसका लागि पूर्व तयारी आवश्यक छ । नयाँ कुरा सिक्न, बुझ्न हिच्किचाहट हुनुहुँदैन । अनि मात्रै चाहेका अवसरहरु पाइन्छ र गतिलो नतिजा निकाल्ने गरी प्रदर्शन गर्न सकिन्छ । 

महामारीको बेला सामान्य बेलाजस्तो हुँदैन नै । तर महामारी छ, लकडाउन छ भनेर हात बाँधेर बस्नु हुंदैन । अहिले पनि बजारमा कयौं रोजगारीहरु खुलेका छन, अवसरहरु उपलब्ध छन् । समय, परिस्थितिलाई बुझेर, केलाएर त्यहिअनुसार क्षमता बढाउन र योजना बनाउन सके बेरोजगार बसिराख्न पर्दैन । 

(बेलायतस्थित ‘भर्‍याङ रिक्रुटमेन्ट सोलुसन्स्’ का प्रबन्ध निर्देशक प्रभु न्यौपानेसंग नेपाली लिंकको संवादमा आधारित)  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू