शनिबार, वैशाख ८, २०८१
21:52 | ०२:३७

गोर्खा अभियन्ताहरुले दिए अन्तिम लडाईंको चेतावनी

नेपाली लिङ्क मार्च ३०, २०२१

फाइल फोटो

लन्डन । समान पेन्सनलगायत माग पुरा गर्न आलटाल गरिएको भन्दै भूतपूर्व गोर्खाहरुले आमरण अनशन गर्ने चेतावनी दिएका छन् ।

बेलायत र नेपाल सरकारका प्रतिनिधि एवं भूतपूर्व गोर्खाहरुबीच विभिन्न चरणका वार्तापछि १३ बुंदे माग प्रस्तुत भएको तीन वर्ष हुंदा समेत बेलायतले वास्ता नगरेको भन्दै गोर्खाहरु ‘वार कि पार’ को अवस्थामा पुगेका हुन् ।

भूतपूर्व गोर्खा सैनिकहरुको न्याय, समानता तथा समान पेन्सन लगायतका १३ बुंदे माग नेपालको राष्ट्रिय एजेन्डा र राष्ट्रिय सहमति बनिसकेको अवस्थामा ती माग पुरा गर्न नेपाल सरकारले आफ्नो कूटनीतिक पहललाई तीव्रता दिन पनि उनीहरुको जोड छ ।

गैरआवासीय नेपाली संघ यूके गोर्खा विभागले गत २७ मार्च शनिबार बेलायतस्थित गोर्खा अभियान सञ्चालन गर्दै आएका प्रमुख संस्थाहरुका अगुवासंग गरेको प्रत्यक्ष वहसमा अभियन्ताहरुले अन्तिम लडाईंको चेतावनी दिए ।

‘छिटो भन्दा छिटो हाम्रा मागहरु सम्बोधन नगरिए १ जुलाई २०२१ बाट हामी लन्डनमा आमरण अनशनमा बस्ने छौं’, एक जना गोर्खा अभियन्ता ज्ञानराज राईले भने । राई सन् २०१३ मा ब्रिटिश रक्षा मन्त्रालय अगाडि आमरण अनशनमा बसेपछि ब्रिटिश संसदले गोर्खालीका माग अध्ययन गर्न सर्वदलीय समिति गठन गरेको थियो ।

शनिबार बहसका क्रममा १३ बुंदे माग सम्बोधन गर्न दुवै मुलुकले जति सक्दो चांडो वार्ता समिति गठन गरी वार्ताको मिति तोक्न माग गर्दै ६ वटा प्रमुख गोर्खा संस्थाहरुले लन्डनस्थित नेपाली तथा काठमाडौंस्थित ब्रिटिश दूतावासमार्फत दुवै सरकारलाई अल्टिमेटम सहितको संयुक्तपत्र छिट्टै बुझाइने बताएका छन् । साथै, उनीहरुले ब्रिटिश सरकारका भेट्रान्स मन्त्रीले नेपाली दूतावासलाई पठाएको भनिएको पत्र सार्वजनिक गर्न पनि दूतावासलाई अनुरोध गरेका छन् ।

ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस), बीगेसो यूके, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, गेसो, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र नेपाल भूपू सैनिक संघ (नेसा यूके) गरि ६ संगठनका प्रतिनिधिले गोर्खा अभियान सशक्त रुपमा लैजान एकैमत जाहेर गरेका छन् ।

भूतपूर्व गोर्खा सैनिकका ३० वर्ष नाघेका छोरा छोरीलाई बिना कुनै अवरोध बेलायत आउन प्राथमिकता दिन, हाल नेपालमा रहेका ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई बेलायत को राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) कै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सर्वदलीय सहमतिका आधारमा नेपालको संविधान संशोधन गरी ब्रिटिश गोर्खा सैनिकहरुको नेपाली नागरिकता निरन्तर रहने व्यवस्था गरियोस् भन्ने माग पनि उनीहरुको छ ।

कार्यक्रममा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) का उपाध्यक्ष बिदुर पाख्रिन तथा अन्य पदाधिकारी, बीगेसो युकेका अध्यक्ष पदम सुन्दर लिम्बु, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई तथा नेपाल भूपू सैनिक संघ (नेसा युके) का अध्यक्ष केश बहादुर गुरुङले आ-आफ्नो संस्थाको गतिविधिबारे जानकारी गराउनुका साथै अब गोर्खा अभियानलाई कसरी अगाडि बढाउने भन्नेबारे महत्वपूर्ण धारणा राखे ।

त्यस्तै सोलिसिटर राजु थापाले भूतपूर्व गोर्खाका ३० वर्ष नाघेका वयस्क सन्तानहरुको ‘अपिल’ प्रक्रियाबारे जानकारी गराएका थिए ।  

उक्त कार्यक्रममा ब्रिगेड अफ गोर्खाजका सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल जे पी क्रसले प्रमुख अतिथिका रुपमा ‘घनले लिही के फोर्छ, आगोको ज्वालाले विस्तारै फोर्छ’ भन्दै सबै गोर्खालीहरुलाई सफलताको शुभकामना दिए ।

एनआरएनए केन्द्रिय सल्लाहकार कुल आचार्यले गोर्खालीले पुरयाएको सेवाको मूल्यांकन गर्दै उनीहरुका माग पुरा गर्न आव्हान गरेका थिए ।

गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा गोर्खा विभागका संयोजक प्रेम गाहा मगरले आफूहरु भूपू गोर्खाहरुसंग कांधमा कांध मिलाएर अगाडि बढ्न तत्पर रहेको बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू