शनिबार, वैशाख ८, २०८१
23:49 | ०४:३४

प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा प्रशिक्षण

नेपाली लिङ्क मार्च २९, २०२१

लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेको वैचारीक अनुसन्धान विभागले सप्ताहन्त एक प्रशिक्षण कार्यक्रम गरेको छ । प्रवासमा रहेका नेकपा एमाले समर्थित नेपालीलाई नेपालको समसामयिक 
राजनीति तथा नेकपा एमालेको सिद्दान्त (जनताको बहुदलीय जनवाद) र माक्र्सवादी दृष्टिकोणबाट समृद्ध नेपाल सुखी नेपालीबारे प्रशिक्षण भएको हो ।

कार्यक्रममा कतार, आयरल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरब, पोर्चुगल, मलेसिया, फ्रान्सका अध्यक्ष र नेताहरू समेत १५० भन्दा बढीको सहभागिता थियो ।

नेकपा एमालेका सांसद तथा केन्द्रीय नेता राजेन्द्र गौतमले प्रमुख आतिथ्य ग्रहण गर्दै माक्र्सवाद र लेनिनवादमा आधारित नेकपा एमालेको पाचौं महाधिवेशन र स्वर्गीय जननेता मदन कुमार भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ बारे विस्तृत विवेचना गरे । जुन पार्टीको छैटौं महाधिवेशनबाट मार्गनिर्देशक सिद्दान्तको रूपमा पारित भएको थियो ।

गौतमले वि.स. २०७४ मा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादीको एकीकरणमा सैद्धान्तिक र वैचारिक जग अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पार्टीको हित केन्द्रमा राखेर सरकारलाई नीति निर्देशन र सहयोगको सट्टा विशेषत उच्च नेतृत्व आफूअनुकुलका स्वार्थमा लिप्त हुंदा पार्टी भित्र गम्भीर संकट पैदा भई झन्डै दुई तिहाई प्राप्त प्रतिनिधि सभाको विघटन गर्न वाध्य हुनु परेको तथ्य प्रस्तुत गरे ।

उनले सर्वोच्च अदालतबाट प्रतिनिधि सभाको पुनर्बहाली पश्चात पुनः फाल्गुन २३ को फैसलाले तत्कालीन् नेकपा एमाले र नेकपा माओवादीलाई बिउंताए पनि लामो समय देखि नेकपा एक हुंदाको मतभेद नेकपा एमाले भित्र सरेकाले यसको एकतामा संकट कायमै रहेको अवगत पनि गराए ।

तथापि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले गुट र समूहलाई कुनै पनि हालतमा मान्यता नदिई सधैंका लागि अन्त्य गर्ने चट्टानी अडान लिएका छन् ।

प्रमुख अतिथी गौतमले जनताको बहुदलीय जनवादले अनुशरण गर्ने मुलभूत १४ वटा सिद्धान्तमध्ये बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, प्रतिपक्षको सम्मान, सुशासन, राष्ट्रिय स्वाधीनता हरूको विषयमा ब्याख्या समेत गरे ।

नेपाली समाजमा विद्यमान शोषण, अत्याचार, अन्यायको अन्त्य विरोधीहरूको अस्तित्वलाई स्वीकार गर्दै वहुलवादमा आधारित लोकतान्त्रिक ब्यवस्थाबाट पनि गर्न सकिन्छ र समाजवादको आधार सृजना हुन्छ भन्ने जनताको बहुदलीय जनवादको विश्वास रहेको उनको धारणा थियो ।

राज्यसत्ता जनताको अभिमतबाट र पार्टीको नेतृत्व कार्यकर्ताहरूको अभिमतबाट मात्रै बैधानिक तवरले प्राप्त गर्नु पर्दछ भन्ने मुख्य सिद्दान्त रहेकाले कम्युनिष्टहरू अधिनायकवादी हुन्छन् भन्ने आरोपलाई जनताको बहुदलीय जनवादले सहजै परास्त गरेको छ । जसले गर्दा विश्वभर रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलन नेपालमा भने क्रमिक रूपमा नेपाली जनता माझ लोकप्रिय हुंदै गयो । फलस्वरुप गत संसदीय निर्वाचनमा कम्युनिष्ट गठबन्धनले झन्डै दुई तिहाई प्राप्त गर्न सफल भयो ।

राजनीतिक आन्दोलन सफल भई गणतान्त्रिक 
संघीय लोकतान्त्रिक ब्यवस्था स्थापना भए पश्चात राष्ट्रिय उत्पादनमा नयां सम्बन्धका आधारमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समाजवादको जग बसाल्ने तथा दुई विशाल छिमेकीसंगको सम्बन्ध आफ्नो राष्ट्रिय स्वाधीनता र एकतालाई मजबुत बनाई आत्मनिर्भर हुनु नै जनताको बहुदलीय जनवादको मुख्य रणनीति रहेको उल्लेख गर्दै गौतमले समयानुकुल निर्वाचन प्रणाली, न्यायपालिका, पार्टी र सामाजिक निकायका भूमिकाबारे जनताको बहुदलीय जनवादले परिमार्जन गर्दै लैजाने योजना रहेको समेत बताए ।

नेकपा एमालेका केन्द्रिय नेता रामबहादुर राउतले पनि प्रमुख आतिथ्य ग्रहण गर्दै नेकपा एमालेको महाधिवेशनबाट पारित भई विद्यमान केपी वलीको सरकारको राष्ट्रिय आकांक्षाको रूपमा रहेको समृद्ध नेपाल सुखी नेपाली माक्र्सवाद दृष्टिकोणबाट भन्ने विषयमा सरल भाषामा तथ्याकं र आधारहरु सहित विवेचना गरे ।

ओली सरकारले योजना आयोगमार्फत विभिन्न ३४ वटा समृद्धिका र २१ वटा सुखका सूचांकहरूको छनोट समेत गरेको स्पष्ट पार्दै राउतले नेपाल भौगोलिक, प्राकृतिक, धार्मिक, जैविक, सांस्कृतिक रूपमा विविधताले भरिपूर्ण भएको हुंदा अब कुनै पनि हालतमा अति गरीव राष्ट्रको रूपमा रहन नपर्ने र विगत तीन वर्षको अवधिमा विभिन्न आन्तरिक र बाहिरी ब्यवधानका बाबजुत केपी ओली सरकारले हासिल गरेका उपलब्धिहरूको तथ्यांक प्रस्तुत गरे ।

वर्तमान सरकारले बन्द र जीर्ण अवस्थामा रहेका उद्योग सञ्चालन, श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोष स्थापना, सडक मानवको विस्थापन, शान्ति प्रकृयालाई पूर्णता दिंदै आर्थिक विकासमा सहजीकरण, असमान ब्यापार घाटा घटाउन उत्पादनमा बृद्धि गर्ने उद्देश्यले अनुदान, शताब्दीयौं देखि भारतसंगको एकतर्फी निर्भरताको अन्त्यका लागि चीनसंग सम्पन्न ऐतिहासिक ब्यापार तथा पारवहन सन्धि जस्ता वर्तमान सरकारको महत्वपूर्ण उपलब्धिबाट नेकपा एमाले समाजवादी लक्षबाट विमुख हुंदै पूंजीवादी दलदलमा फस्न लागेको भन्ने आरोपलाई पनि उनले खण्डन गरे ।

राउतले नेपाल तीन खम्बा अर्थनीति निजी, सहकारी तथा सरकारी लगानीमा आधारित रहेकाले प्रवासमा रहेका सबै गैरआवासीय नेपालीलाई आफूले आर्जन गरेको ज्ञान, सीप र आर्थिक श्रोतलाई नेपालको राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन सदुपयोग गर्न समेत आव्हान गरे ।

उक्त कार्यक्रम संघका अध्यक्ष भक्त गुरुङको सभापतित्वमा भएको थियो । कार्यक्रममा विभाग संयोजक बालकृष्ण भुसाल र मञ्चका महासचिव सुरेशजंग शाहले सहभागीहरुलाई स्वागत गर्दै आफ्ना मन्तव्य राखेका थिए ।

त्यसैगरी मञ्चका सल्लाहकारहरु कर्ण शाही र दिनेश घिमिरेले प्रशिक्षणको संश्लेषणसहित आफ्ना टिप्पणी प्रस्तुत गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू