बुधबार, वैशाख २६, २०८१
03:56 | ०८:४१

इंग्ल्याण्डमा सोमबारदेखि छ जनासम्म भेट्न पाइने

नेपाली लिङ्क मार्च २६, २०२१

लन्डन । बेलायतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि हाल जारी लकडाउन २९ मार्च अर्थात आउँदो सोमबारदेखि केहि सहज बन्दैछ । झन्डै चार महिनापछि मानिसहरुले बढीमा छ जनासम्म वा दुई घरपरिवारबीच भेटघाट गर्न पाउनेछन् ।

‘रुल अफ सिक्स’ को नियम पालना गर्दै यस्तो भेटघाट आउटडोर पार्क तथा सार्वजनिक स्थल, घरबाहिर प्राइभेट गार्डेन लगायत स्थानमा गर्न दिइनेछ ।

आइतबार मध्यरातदेखि सरकारद्वारा जारी ‘स्टे होम’ को नियम अन्त्य भएर आफन्त तथा एकापसबीच भेटघाटको बाटो खुल्नेछ ।

यद्धद्यपि पार्क तथा सार्वजनिक स्थल लगायत आउटडोरमा गरिने भेटघाटमा अन्य व्यक्ति वा घरपरिवारसंग कोरोना सम्बन्धि नियमको पालना गर्नुपर्नेछ ।

एकाघरबाहेकका मानिससंगको भेटघाटले कोरोना संक्रमण बढ्ने खतरा भएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । अझै पनि ‘स्टे लोकल’ को नियम जारी रहेको र टाढाको यात्रामा नियन्त्रण गरिने बताइए पनि यसबारे स्पष्ट गरिएको छैन् ।

सोमबारबाट बढीमा दुई घरका मानिसहरुबीचमा घरबाहिर गार्डेनमा भेटघाट गर्ने बाटो खुलेतापनि घरभित्रको भेटघाटलाई भने अझैपनि  गैरकानूनी मानिन्छ । तर, ट्वाइलेट सुविधा प्रयोग गर्न भने घरभित्र जान पाइनेछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा ४ चरणमा लकडाउन खुलाउने घोषणा गरे अनुसार मार्च ८ तारिखबाट स्कुलहरु सञ्चालन भइसकेका छन् भने मार्च २९ देखि आउटडोर (पार्क, प्राइभेट गार्डेन) ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइने भएको हो । यसका साथै टेनिस, बास्केटबल लगायत आउटडोर खेलस्थल पनि  सुचारु गरिनेछ ।

यसैगरी लकडाउन खुला गर्ने दोस्रो चरण अप्रिल १२ बाट अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै ’रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्यूजियम, बियर गार्डेन, थिम पार्क लगायत सार्वजनिक स्थलहरु पनि खुला गरिनेछ ।

पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्न सक्नेछन् । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।

तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसाय खुल्नुका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ ।

यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन् । खेलकुद इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् ।

चौंथो तथा अन्तिम चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र इंग्ल्याण्ड लकडाउनमुक्त हुनेछ । तर यसका लागि सरकारले विभिन्न चारवटा मान्यता पूरा हुनुपर्ने र यसो भएमा मात्र लकडाउन खुल्ला गरिने बताएको छ ।

हाल युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि थप सतर्कता अपनाउन थालिएको छ । विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध र कडाइ गरिनुकासाथै इंग्ल्याण्डबाट बाहिर जाने यात्रुहरुलाई पनि अत्यावश्यक कारणबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।

बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण भने नियन्त्रण उन्मुख भएको अधिकारीहरुले बताएका छन् । संक्रमित, मृतक र अस्पतालमा रहेका बिरामीको संख्यामा निकै कमी आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू