शुक्रबार, चैत १६, २०८०
15:26 | २१:११

बेलायतको वर्सेस्टरशायर क्लबबाट टि-ट्वान्टी काउन्टी लिग खेल्दै सन्दीप

नेपाली लिङ्क मार्च २६, २०२१

लन्डन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा आयोजना हुने काउन्टीस्तरको टि-ट्वान्टी लिग खेल्ने भएका छन्   

यहाँका ए श्रेणीका काउन्टी क्लबहरुले प्रतिस्पर्धा गर्ने ‘भाइटालिटी टि-ट्वान्टी ब्लास्ट’ मा उनले वर्सेस्टरशायर क्लबबाट खेल्ने पक्का भएको हो । क्लबले बुधबार सन्दीपलाई अनुबन्ध गर्न लागेको घोषणा गरेको छ ।  

‘सन्दीपले मुख्य प्रतियोगिताहरु खेलिसकेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभव बटुलिसकेका छन्’, क्लबका प्रमुख प्रशिक्षक एलेक्स गिडम्यानले भनेका छन्, ‘उनी एउटा लेग स्पिनर हुन्, उनको स्पिन जादुमय छ र हामीलाई विश्वास छ कि उनको यही कलाले हाम्रो टीमलाई सन्तुलित बनाउनेछ ।’

क्लबले सन्दीपसँग कति रकममा सम्झौता गर्न लागेको भन्ने सार्वजनिक गरेको छैन ।  

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा आगामी जुन ९ देखि ‘भाइटालिटी टि-ट्वान्टी ब्लास्ट’ शुरु हुँदैछ ।  

विश्वभरका प्रतिष्ठित टि-ट्वान्टी लिगहरु खेलिसकेका युवा नेपाली क्रिकेटर सन्दीपले बेलायती लिग खेल्न लागेको यो पहिलो अवसर हो ।  

३ वर्षअघि १७ वर्षको उमेरमै इन्डियन प्रिमियर लिगमा ब्रेक पाएका सन्दीपले पाकिस्तान सुपर लिग, अष्ट्रेलियाको बिग बास लिग, क्यारेबियन सुपर लिग जस्ता प्रमुख प्रतियोगिता खेलिसकेका  छन् । हालसम्म उनले ९६ खेलमा १ सय २५ विकेट लिएका छन् भने उनको इकोनोमी रेट ६ दशमलव ७९ छ ।  

यही वर्ष बेलायतमा आयोजना हुन लागेको पहिलो ‘हन्ड्रेड बल क्रिकेट’ पनि उनले खेल्ने पक्का भइसकेको छ ।  

‘भाइटालिटी टि-ट्वान्टी ब्लास्ट’ खेल्ने सम्झौता भएपछि सन्दीपले आफू उत्साहित रहेको बताएका छन् ।  

‘भाइटालिटी टि-ट्वान्टी ब्लास्ट’ का लागि वर्सेस्टर क्लबमा जोडिन पाएकोमा म सांच्चिकै खुशी छु । काउन्टी क्रिकेटमा क्रिकेट मात्र नभएर संस्कृति, माहोल र दर्शकको उपस्थिति पनि विशेष रहन्छन् भन्ने सुन्दै आएको छु । आशा गर्छु कि भविष्यमा धेरैभन्दा धेरै नेपाली क्रिकेटरहरुले काउन्टी क्रिकेटमा अवसर पाउनेछन्’, सन्दीपले ट्वीटरमा भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू