बिहीबार, वैशाख १३, २०८१
08:11 | १२:५६

बेलायतवासी निर्माताको फिल्म ‘शिरसुबा’लाई ऐतिहासिक सफलता

नेपाली लिङ्क मार्च २४, २०२१

लन्डन । बेलायतवासी निर्माता विमल गुरुङले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ ले महामारीबीच पनि लोभलाग्दो सफलता पाएको छ ।  

गत चैत्र ६ गते शुक्रबारदेखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शन हुँदै आएको ‘शिरसुबा’ ले दर्शकको उत्साहजनक साथ पाएको छ । फिल्मको मंगलबार र बुधबारका शो पनि ‘हाउसफुल’ भएका छन् ।  

कोरोना महामारीका बेला चलचित्र क्षेत्र ठप्प भएका बेला लकडाउन खुलेलगत्तै माघ ११ मा शिरसुबाको पहिलो प्रदर्शन पर्यटकीय गाउँ घान्द्रुकमा गरिएको थियो ।  

काठमाडौंको रानीदेवी पार्टी प्यालेसमा गरिएको दोस्रो शोमा सहभागी चर्चित निर्देशक रामबाबु गुरुङ, अभिनेताहरु दयाहाङ राई, विल्सनविक्रम राई लगायतले नेपाली भाषाकै धेरै चलचित्रभन्दा अब्बल रहेको भन्दै शिरसुबाको प्रशंसा गरेका थिए ।  

पोखरा मिडटाउन हलमा गत चैत्र २ मा सम्पन्न रेड कार्पेट शोपछि चैत्र ६ को पहिलो शोमै शिरसुबाले ९० प्रतिशत अकुपेन्सी पाएको थियो । शोको पांचौ र छैठौँ दिनका शो हाउसफुल बनेपछि कतिपय दर्शक सिट नपाएर घर फर्किनु परेको फिल्मका प्रचार प्रसार संयोजक अमृत गुरुङले बताए ।  

ऐतिहासिक सफलता

गुरुङ फिल्मको २५ वर्ष लामो इतिहासमा पहिलो पटक फागुन १ गते देखि गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को समन्वयमा पोखराको मिडटाउन सिनेमाजमा गुरुङ फिल्मको नियमित प्रदर्शन शुरु भएको हो । यसअघि दुई गुरुङ फिल्म – ‘कर्म क्याः’ र ‘रिंजे नासा’ प्रदर्शनमा आइससकेका छन् ।

नियमित प्रदर्शनको तेश्रो फिल्म ‘शिरसुबा’ले दर्शकलाई हलसम्म तानेको देख्दा आफुहरुले लिएको उद्देश्य धेरै टाढा नभएको जस्तो भान भएको जिफान अध्यक्ष भोजबहादुर गुरुङले बताए । 

‘गुरुङ फिल्मको इतिहासमा नयाँ युगको थालनी भएको छ, जसमा ठुलो इट्टा थप्ने काम ‘शिरसुबा’ले गरेको छ’, दर्शकलाई धन्यवाद दिंदै उनले भने, ‘यसरी नै गुरुङ फिल्म हेर्न दर्शक हलसम्म आउनुभयो भने नेपाली फिल्म जस्तै गुरुङ फिल्म पनि अल नेपाल रिलिज गर्ने दिन चांडै आउनेछ ।’

‘शिरसुबा’ले पाएको सफलता सिंगो गुरुङ फिल्मको सफलता भएको फिल्मका निर्देशक माओत्से गुरुङले बताए । यस्तै खालको परिवेशबाट अगाडि बढ्न सके गुरुङ फिल्म नै हेर्न बिस्तारै दर्शक हलसम्म आउने वातावरण बन्ने पक्का भएको उनको भनाइ छ । दर्शकले हलसम्म आएर फिल्मको मज्जा लिएको देख्दा आफुले फिल्म निर्माण बेलाको दु:ख बिर्सिएको उनी बताउँछन् ।  

यता लोकल फिल्मका दर्शकले हल भरिएको देख्दा छुट्टै खुशी मिलेको मिडटाउन सिनेमाजका सहायक प्रोपर्टी म्यानेजर विपिन क्षेत्रीले बताए । शुरुमा शुक्रबार र शनिबार मात्र ‘शो’ राखिएको भएपनि दर्शकको चाप बढेपछि अरु बार पनि फिल्मको ‘शो’ थपेको उनले बताए।

माओत्से गुरुङ निर्देशित फिल्मले दर्शकको साथसंगै  सकारात्मक प्रतिकृया पनि पाएको छ। दर्शकले फिल्मको मुख्य पात्र ‘शिरसुबा’ (सुमन गुरुङ) को अभिनयको तारिफ समेत गरेका छन । धेरैले फिल्मको कथा र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन ।

फिल्ममा निर्माण एवम् कथा बेलायतवासी युवा विमल गुरुङको छ ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले निर्माण गरेको दोश्रो फिल्म ‘शिरसुबा’ मा विश्वास गुरुङ र सुमन गुरुङको मुख्य भूमिका रहेको छ। माओत्से गुरुङको लेखन, विमल गुरुङको कथा तथा निर्माणमा बनेको फिल्ममा विश्वास र सुमनको अलावा सुमित गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय छ । साथै, रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा र लक्ष्मी गुरुङलाई पनि फिल्ममा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सनले यसअघि फिल्म ‘भ्रें’ निर्माण गरेको थियो ।पर्यटकीय गाउँ घान्द्रुकमा छायांकन भएको फिल्मलाई सिनेमेटोग्राफर सुशान्त प्रजापतिले खिचेका हुन् । फिल्ममा धन बहादुर गुरुङ र मनोज गुरुङको संगीत, गोरे गुरुङ र लप्सन गुरुङको कोरियोग्राफी र टाक टुकको सम्पादन छ।

सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशनमा तयार भएको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ रहेका छन।फिल्म करिब ३५ लाखको लागानीमा निर्माण भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू