बुधबार, वैशाख १२, २०८१
02:01 | ०६:४६

बेलायतबाट बाह्य मुलुक जान थप कडाइ, उल्लंघन गरे पांच हजार पाउण्ड जरिवाना

नेपाली लिङ्क मार्च २३, २०२१

लन्डन । बेलायत सरकारले विदेशमा छुटी मनाउन जानेहरुका लागि कडा नियम लागू गर्दै पांच हजार पाउण्डसम्म जरिवाना गर्ने भएको छ ।

बेलायती नागरिकहरु अनावश्यक रुपमा होलिडे जान थालेको भन्दै आउँदो सोमबारबाट कम्तिमा जुन अन्तिमसम्मका लागि उक्त नयां नियम लागू गर्ने तयारी भएको हो । यस सम्बन्धमा सरकारले चांडै अन्तिम निर्णय गर्ने बताइएको छ ।

कोरोना भाइरसको नयां लहर फैलिने सम्भावना बढेको भन्दै अत्यावश्यक कामबाहेकका मानिसलाई मुलुकबाहिर जान प्रतिबन्ध गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

बिना कुनै कारण विदेशमा होलिडे मनाउन गएको पाइएमा पांच हजारसम्म जरिवाना तिर्नुपर्नेछ । तर, च्यानल आइल्याण्ड, आएल अफ म्यान र आयरल्याण्डका लागि भए सो नियम लागू हुनेछैन् ।

यसैगरी कामको सिलसिला, अध्ययन, कानूनी दायित्व, आफन्तको निधन तथा अन्त्येष्टि जस्ता कामका लागि पनि सो प्रतिवन्ध लागू हुनेछैन् ।

युरोपका केहि मुलुकले कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै लकडाउन शुरु गरेलगत्तै बेलायतमा पूर्व सावधानी अपनाउन नयां नियम लागू गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतले कोरोना महामारीको दोस्रो लहर पार गरिसकेको छ भने हाल केहि हदसम्म कोरोना संक्रमण  र मृत्यु दरमा नियन्त्रण हुंदै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू