बुधबार, वैशाख १२, २०८१
18:11 | २२:५६

एनआरएनए यूके एमआइएसमा जाने, आर्थिक प्रतिवेदनबारे धारणा केही दिनमा

सदस्यता शुल्क १० पाउण्ड, लिने म्याद अप्रिल १ देखि जुन १० सम्म

नेपाली लिङ्क मार्च २३, २०२१


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघको केन्द्रीय ‘म्यानेजेमन्ट इन्फमेसन सिस्टम’ (एमआइएस) मा जाने निर्णय गरेको छ ।

सोमबार मध्यरातमा सम्पन्न कार्यसमिति बैठकले सदस्यता व्यवस्थापनका लागि संघको केन्द्रले नै व्यवस्था गरेको सिस्टम प्रयोग गर्ने निर्णय लिएको हो ।

म्यानेजेमन्ट इन्फमेसन सिस्टम (एमआइएस) जाने निर्णयसंगै अब एनआरएनए यूकेको डेटा एनआरएनए केन्द्रको सिस्टममा स्टोर हुनेछ । सोही सिस्टमलाई उपयोग गर्दै अनलाइन भोटिङ गर्ने कि विगतमा जस्तै मतदान केन्द्र राखेरै प्रत्यक्ष भोटिङ गराउने भन्ने दुवै विकल्प बाँकी रहनेछन् । अनलाइन भोटिङमा जाने वा नजाने बारेमा अहिलेको बैठकमा कुनै निर्णय गरिएको छैन ।

एनआरएनए यूकेका सदस्यहरुले बुझाएको विवरण अब केन्द्रीय सिस्टममा दर्ता हुनेछ । आइसीसीले कार्यान्वयनमा ल्याएको यो व्यवस्थालाई धेरै मुलुकका राष्ट्रिय समन्वय परिषदहरुले प्रयोग गर्दै आएपनि बेलायतले भने अहिलेसम्म आफ्ना सदस्यको विवरण आफैसंग मात्रै राख्दै आएको थियो ।

सोमबारको कार्यसमिति बैठकमा संस्थापन पक्षइतरका केही पदाधिकारीले अहिले नै एमआइएस सिस्टममा गइहाल्ने निर्णय नगरौं भन्ने मत राखेका थिए । तर एमआइएसमा नरहनेहरुले आइसीसीको अनलाइन निर्वाचनमा भाग लिन समेत नपाउने भएकाले यसकोे विकल्प नरहेको भन्दै एमआइएसमा जाने निर्णय गरिएको थियो ।

बैठकमा आइसीसी महासचिव डा हेमराज शर्माले एमआइएसबारे उठेका कयौं प्रश्नहरुको जवाफ दिंदै कार्यसमितिलाई यसका पक्षमा ‘कन्भिन्स’ गराएका थिए ।

सदस्यता अप्रिल १ देखि जुन १० सम्म, शुल्क १० पाउण्ड

एनआरएनए यूकेले आउँदो अप्रिल शुरुदेखि सदस्यता वितरण खुला गर्ने निर्णय गरेको छ । सदस्यताका लागि अप्रिल १ देखि जुन १० सम्मको समयमसीमा तोक्ने निर्णय बैठकले गरेको छ ।

प्राप्त सदस्यता आवेदनहरुलाई स्वीकृत गर्न कार्यसमितिको आगामी बैठकले ११ सदस्यीय प्रमाणिकरण समिति बनाउने बताइएको छ ।

त्यस्तै, बैठकले सदस्यता शुल्क १० पाउण्ड निर्धारण गर्ने निर्णय गरेको छ ।

आर्थिक प्रतिवेदन अध्ययन गरी धारणा बनाइने

एनआरएनए यूकेको आर्थिक छानबिन समितिले बुझाएको प्रतिवेदनका बारेमा समेत बैठकमा छलफल गरिएको छ ।

समितिको प्रतिवेदन अध्ययन गरी थप छलफलपछि केही दिनभित्रै यसबारे संस्थाको धारणा निर्माण गर्ने सहमति बैठकले गरेको छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा साँझ ६ बजे शुरु भएको भर्चुअल बैठक राती साढे १ बजेसम्म चलेको थियो ।

बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीसंगै चारवटै राज्य परिषदका अध्यक्षहरु, आइसीसी महासचिव डा हेमराज शर्मा, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, दयानिधि सापकोटा, अर्कराज तिम्सिना, सुशिला राई, योगकुमार फगामी, सुरोज मास्के लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू