बुधबार, वैशाख १२, २०८१
15:42 | २०:२७

बेलायतमा कोरोना मृतक संख्या ६ महिनायताकै कम

२४ घन्टामा १७ जनाको मात्र मृत्यु

नेपाली लिङ्क मार्च २२, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ महिनायताकै कम भएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार  पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १७ जनाको मात्र मृत्यु भएको छ ।

दैनिक मृतक संख्याको आधारमा यो संख्या गतवर्ष सेप्टेम्बर २८ पछिकै सबैभन्दा कम भएको समाचारमा उल्लेख छ । सेप्टेम्बर २८ मा पनि सोहि संख्यामा मृत्यु भएको डेली मिररले उल्लेख गरेको छ ।

यससंगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १७२ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ३४२ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख नाघेको छ । बेलायतमा हालसम्म ४३ लाख एक हजार ९२५  जना संक्रमित भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४४० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा तीन करोड बढी खोप वितरण

बेलायतमा  हालसम्म तीन करोड भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड दुई लाख ७९ हजार ३६० डोज खोप वितरण भइसकेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ७९ लाख ९७ हजार ९७६ जनाले खोपको पहिलो र २२ लाख ८१ हजार ३८४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

शनिबार एकैदिनमा ८ लाख ४४ हजार २८५ जनाले खोप लगाएर नयां कीर्तिमान कायम भएको छ । यसअघि शुक्रबार एकै दिन ७ लाख ११ हजार १५७ जनाले कोरोना विरुद्धको खोप लगाएर नयां कीर्तिमान कायम भएको थियो ।

यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै अहिलेसम्मको सबैभन्दा धेरै हो । बेलायतमा हाल फाइजर र अस्ट्राजेनिकाको दुईवटा खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू