शनिबार, वैशाख १५, २०८१
03:32 | ०८:१७

एमाले महासचिव पोखरेलले मञ्च पदाधिकारीलाई दिए निर्देशन

नेपाली लिङ्क मार्च २१, २०२१

लन्डन । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र प्रवासी नेपाली एकता मञ्च पदाधिकारीहरुबीच नेपालमा विकसित समसामयिक राजनीतिक घट्नाक्रम र आगामी दिनमा प्रवासस्थित पार्टी समर्थित एकता मञ्चहरूको भूमिकाबारे अन्तरसंवाद भएको छ ।

जुम बैठकको प्रमुख आतिथ्य गरेका महासचिव पोखरेलले प्रवासी मञ्चलाई विभिन्न सुझाव तथा निर्देशन पनि दिएका छन् ।

उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेलले हाल नेपालमा विद्यमान राजनीतिक परिघट्नाको विषयमा जानकारी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संसदबाट राजनीतिक निकास नहुने निष्कर्षका साथ वाध्य भई प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको बताएका थिए । प्रधानमन्त्रीको कदम संवैधानिक रूपमा सर्वोच्चले गलत ठहर गरेपनि एक महिना बितिसक्दा समेत प्रतिनिधिसभा अनिर्णयको बन्दी बन्नुबाट राजनीतिक रूपमा सही थियो भन्ने प्रमाणित भइरहेको छ, उनले भने ।

सरकारको भविष्यकाबारेमा माओवादीले सरकारबाट उसको चाहनाले नभई बाध्यताले समर्थन फिर्ता नलिएको पनि उनले बताए ।

यदि माओवादीले सरकारबाट अलग भएको निर्णय गरे प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । तीन दलीय गठबन्धन सुनिश्चित नभएसम्म सरकारबाट अलग हुने निर्णय आत्मघाती हुने माओवादीको बुझाइ छ  ।

तीन दलबीच भद्रगोल अवस्था रहेकै बेला ओलीले ३० दिन नपर्खेर तत्काल विश्वासको मतको प्रस्ताव संसद्मा राख्न सक्छन् । त्यस्तो बेलामा उनले विश्वासको मत नपाउने र संसद्ले वैकल्पिक सरकार पनि दिन नसक्ने जोखिम हुन्छ  । त्यसले फेरि प्रतिनिधिसभा विघटनको जोखिम बढाउनेछ भन्ने बुझाई माओवादीको छ  ।

पोखरेलले वैकल्पिक सरकार बन्न नसक्ने वातावरण बनाएर फेरि संविधानको धारा ७६ (३) अनुसार पुनः ठूलो दलको हैसियतले ओली प्रधानमन्त्री भई उनकै मन्त्री मन्डलले मध्यावधि निर्वाचन गराउँने हो कि भन्ने त्रासमा माओवादी रहेको समेत जानकारी गराए ।

पोखरेलले अगाडि भने–‘त्यसैले प्राविधिक रूपमा भए पनि माओवादीले सरकारसंगको सहकार्य कायम राखेको छ ।’

संसदभित्र रहेका अन्य दलहरुमा सहमति भइ ओली सरकारलाई विस्थापन गर्न सफल भए भने पनि प्रतिपक्षमा रहेर पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको माध्यमबाट पार्टीलाई ससक्त बनाउने योजना रहेको समेत महासचिवले अवगत गराएका थिए ।

नेता पोखरेलले प्रवासमा रहेका आफ्नो पार्टी समर्थक र शुभेच्छुकहरूलाई एकतावद्ध गर्दै नेपाली राजनीतिको मुलधार नेकपा एमालेले लिएको विकास र देश भक्तिको अभियानमा सामेल हुन अभिप्रेरित गर्न तथा विदेशमा रहेर आर्जन गरेको बौद्धिक ज्ञान, सिप र आर्थिक श्रोतलाई देश विकासमा कसरी उपयोग गर्न सकिन्छ छिट्टै योजना सहितका प्रस्तावहरू तयार गरी नेपाल सरकारलाई उपलब्ध गराउँन समेत आव्हान गरेका छन् ।

सहभागीहरूले सुशासनको सन्दर्भमा राखेका प्रश्नहरुको उत्तर दिने क्रममा उनले आफू लगायत सरकारमा सहभागी कोही पनि दोषी ठहर भए झुन्डिन र झुन्ड्याउन समेत तयार भएको जानकारी दिंदै हालको सरकार सुशासनका लागि प्रतिवद्ध रहेको विश्वास समेत दिलाए ।

उक्त कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले गरेका थिए । स्वागत मन्तव्य नेपाली प्रवासी मन्च हङकङका अध्यक्ष भक्त गुरुङले गरेका थिए भने प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेलले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम सञ्चालन प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले गरेका थिए ।

उपरोक्त भेला पश्चात आजै प्रवासी नेपाली एकता मञ्च बेलायको प्रचार विभागको बैठक मञ्चका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पूर्व अध्यक्ष तथा महासचिवको सहभागितामा सम्पन्न भएको छ ।

बैठकमा विभागका प्रमुख तुङभद्र भुषाल लगायत अधिकांश सदस्यहरूको उपस्थिति थियो ।

बैठकले प्रचार प्रसारलाई ब्यवस्थित गर्ने उद्देश्यले वेवसाइट, फेसबुक, युट्युब क्रियाशिल गराउनुका साथै अर्धवार्षिकी डायस्पोरा पोर्टल पनि प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू