शनिबार, साउन १२, २०८१
06:47 | ११:३२

गण्डकीको खेल विकासमा सघाउन बेलायतमा समन्वय मञ्च घोषणा

गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मान

नेपाली लिङ्क मार्च २१, २०२१

लन्डन । नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा सघाउने लक्ष्यमा बेलायतमा समन्वय मञ्च गठन भएको छ ।

गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा गरिएको हो ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको संयोजनमा गठित मञ्चमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बेलायतस्थित विभिन्न क्षेत्रीय तथा खेलकुदसम्बन्धि संघसंस्थाको प्रतिनिधित्व रहनेछ ।

नवनियुक्त सदस्यसचिव गुरुङको सम्मानमा मञ्चका संयोजक मीनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले बधाई तथा शुभकामना ज्ञापन गरे ।
अध्यक्ष पन्तले गुरुङ उक्त पदका लागि उपयुक्त व्यक्ति भएको बताए । अनुभवसहित जिम्मेवारी पाएकाले गुरुङबाट गण्डकी प्रदेशले खेल क्षेत्रमा मनग्य लाभ लिने पन्तको भनाइ थियो ।

खेलकुदले विदेशमा रहेका दोश्रो पुस्ताका नेपाली युवालाई आफ्नो मातृभूमितर्फ आकर्षित गर्ने भएकाले एनआरएनएले यस क्षेत्रलाई विशेष प्राथमिकता दिई नेपालको खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्तव्यका क्रममा सदस्य सचिव तेजबहादुर गुरुङले 
आफूमा महत्वपूर्ण जिम्मेवारी आएको र केन्द्रित भएर काम गर्ने वातावरण र पहुंच भएकाले यसलाई अवसरका रुपमा लिएको बताए । कार्यक्रममा प्राप्त राय सुझाव मनन गर्दै अगाडि बढ्ने पनि उनले बताए । उनले अग्रज व्यक्तित्वहरुका माझ सम्मान पाउंदा गर्व लागेको बताउंदै आयोजकप्रति आभार समेत व्यक्त गरे ।

खेलकुद संस्कृतिप्रति गलत मानसिकता चिर्नु आवश्यक रहेको उल्लेख गर्दै खेलकुद जीवनशैली र विज्ञान भएको उनले बताए । अनुशासित हुन र समाजमा मिलेर बस्न खेलले धेरै भूमिका खेल्ने बताउंदै उनले राष्ट्रिय एकताको एउटा अंश खेलले विश्व शान्ति सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि औंल्याए ।

खेलकुद मनोरन्जनमात्र नभइ अर्थव्यवस्था उकास्ने ठूलो माध्यम भएको उनको धारणा थियो । गण्डकी प्रदेशमा नेपाली डायस्पोराको सहयोग त छंदैछ, बेलायतबाट खेल विकासमा हुन सक्ने सहयोग र सहकार्यका लागि मितेरी सम्बन्ध गांस्न पनि उनले जोड दिए ।

कुनै जमानामा गण्डकी अञ्चलको खेल स्तर सशक्त भएपनि अहिले खस्केकाले त्यो उकास्ने आफ्नो योजना रहेको उनले बताए । विभिन्न उमेर समूहमा खेलकुद गतिविधि विस्तार गर्ने, प्रदेश र राष्ट्रको गौरव अभिवृद्धि 
गर्ने गरी खेलाडी उत्पादन गर्ने आफ्नो सोच रहेको पनि उनले सुनाए ।

सदस्य सचिव गुरुङले पहाडी भेगमा खेलिने मौलिक खेल छेलो र तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भइसकेको पनि जानकारी दिए । ‘हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर’ खोल्ने प्रोजेक्ट रहेको पनि उनले बताए ।

खेलकुदले दोश्रो पुस्तालाई आफ्नो मातृभूमितर्फ आकर्षित गर्ने भएकाले अभिभावकहरुलाई पनि यसमा लाग्न आग्रह गरे । गण्डकी प्रदेशको खेल विकासमा गैर आवासीय नेपाली संघबाट धेरै अपेक्षा राखेको बताउंदै उनले आफू सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए आइसीसी महासचिव डा. हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा, अन्तरराष्ट्रिय कास्की आदर्श समाज अध्यक्ष गोविन्द पौडेल, अन्तरराष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी, सहारा यूके संस्थापक नवीन गुरुङ, बुद्धिजिवी एवं पूर्व प्रधानाध्यापकद्धय एकेन्द्र गुरुङ र महेश गुरुङ, तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, वगर माइखलक यूके अध्यक्ष चन्द्रमान गुरुङ, पोखरा रामबजार समाज यूकेका पहलमान गुरुङ, पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ, घोताने समाज यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, स्याङजा समाज यूके अध्यक्ष शारदा गुरुङ, लमजुङ समाज यूके अध्यक्ष विश्वजंग गुरुङ, गोरखाली समाज यूके उपाध्यक्ष हेम गुरुङ, तनहुं समाज यूके अध्यक्ष लेख गुरुङ, तमुधि यूके आमा समूह महासचिव यशोधा गुरुङ, मोना यूके एवं एनआरएनए यूके पूर्व अध्यक्ष योग फगामी, प्रवासी नेपाली मञ्च यूके उपाध्यक्ष रमेश बास्तोला, सहारा यूके पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, ज्येष्ठ नागरिक नन्दकुमारी गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिए ।

शुभकामना दिने वक्ताहरुले खेल क्षेत्रमा लामो योगदान र अनुभव संगालेका गुरुङ गण्डकी प्रदेशको खेलकुद परिषद सदस्यसचिवमा नियुक्त हुनु सुःखद रहेको धारणा राखे । गुरुङको कार्यकालमा खेलकुद विकासमा उल्लेखनीय प्रगति हुने आशा राख्दै उनीहरुले आवश्यक सहयोगको प्रतिवद्धता पनि गरे । उनीहरुले नेपालको खेलकुद विकासमा गैरआवासीय नेपालीहरुका तर्फबाट साथ, सहयोगको प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले गण्डकी प्रदेशका सदस्यसचिव गुरुङको प्रोफाइल र पृष्ठभूमि समेटेर प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च, यूकेका संयोजक मीनप्रसाद तमुले स्वागत र समापन मन्तव्यका क्रममा सदस्य सचिव गुरुङलाई बधाइ तथा शुभकामना दिए । उनले गण्डकी प्रदेशको खेल विकासका लागि बेलायतबाट सक्दो सहयोग हुने प्रतिवद्धता पनि व्यक्त गरे । उनले कार्यक्रममा सहभागी हुने सबैप्रति धन्यवाद समेत दिए ।

कार्यक्रमको सञ्चालन एनआरएनए आइसीसी सदस्य भक्त गुरुङले गरेका थिए । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका साथै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विदेशस्थित संस्थाहरु र गण्डकी प्रदेशस्थित खेलकुद निकट संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

को हुन् सदस्य सचिव गुरुङ ?

नवनियुक्त सदस्यसचिव गुरुङ ह्यान्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन् । देशभित्र थुप्रै प्रतियोगितामा सहभागी र अवार्ड जित्न सफल उनले खेलकुदमा सहभागिताकै क्रममा दर्जनौं देशको भ्रमण गरिसकेका छन् । सक्रिय खेल जीवनबाट अवकाश लिएपछि गुरुङ खेलकुदकै किासमा निरन्तर क्रियाशिल रहंदै आएका छन् ।

गुरुङ नेपाल ओलम्पिक कमिटीमा दोस्रो कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा छन्  भने नेपाल ह्यान्डबल संघमा पनि अहिले दोस्रो कार्यकाल अध्यक्ष छन् ।एशिएन ह्यान्डबल महासंघमा सदस्य रहेका उनी दक्षिण एशियाली ह्यान्डबल महासंघमा उपाध्यक्ष छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा कोषाध्यक्ष एवं भूतपूर्व खेलाडी मञ्च नेपालमा अध्यक्ष पनि छन् ।

गुरुङले खेलकुद क्षेत्रमा पुरयाएको योगदानको खातिर देश, विदेशबाट कयौं सम्मानहरु पनि पाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू