बिहीबार, वैशाख १३, २०८१
14:40 | १९:२५

शैक्षिक संस्थाका लागि सहयोग जुटाउन दोलखादेखि दिपायलसम्म साइकल यात्रा

नेपाली लिङ्क मार्च २०, २०२१


नेपालगञ्ज — शैक्षिक संस्थाहरुका लागि सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको यात्रामा निस्किएका साइकलयात्री देवेन्द्र बस्न्यात शनिबार बेलुका नेपालगञ्ज आइपुगेका छन्। उनलाई नेपालगञ्ज साइकलिंग क्लबका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालयका लागि सहयोग जुटाउने उद्देश्यका साथ साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि दिपायलसम्मको यात्रा शुरु गरेका हुन् । उनले १२ दिनमा १,२०० किलोमिटर दूरी तय गर्ने लक्ष्य लिएका छन् ।

‘मेरो अहिलेसम्मको यात्रा निकै उपलब्धिमूलक रहेको छ’, साइकल यात्री बस्न्यातले भने । उनले यो अभियानमा सघाउने सबैलाई धन्यवाद पनि दिए ।

नेटवर्ककी सचिव लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको बताइन् । उनले यो अभियानबाट संकलन हुने रकम दोलखाको राजकुलेश्वर विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन् ।

हेल्प नेपाल नेटवर्क युकेले यो अभियानमा सघाउन चाहने सहयोगी दाताहरुलाई यो लिंक भित्र गएर आफूले इच्छाएको रकम सघाउन आग्रह गरेको छ ।

नेपालमा हेल्प नेपाल नेटवर्कको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१मा सहयोग रकम जम्मा गर्न सकिने छ । त्यस्तै मोबाइल एप खल्तीको बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर पनि सहयोग गर्न सकिने छ ।


को हुन् साइकलयात्री बस्न्यात ?

सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यातले विश्व साइकलयात्री पुश्कर शाहसंग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रवर्द्धन लगायतका काम गर्दै आएका छन् ।

फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशी, पूर्व मन्त्री तथा कांग्रेस नेता गगन थापा, संस्थाका सल्लाहकार एवं पूर्व अर्थमन्त्री शंकर कोइराला, विजय राजभण्डारी लगायतले बस्न्यातलाई विदाई गरेका थिए  ।

बस्न्यातले अभियानका क्रममा आफूले कुनै रकम नलिने र साइकल मर्मत लगायतको खर्च पनि आफैंले व्यहोर्ने बताएका छन् ।

नेपालका दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू