शुक्रबार, वैशाख १४, २०८१
04:02 | ०८:४७

यूकेमा फर्लो राहतको फाइदा उठाउने धनाढ्य् व्यापारीदेखि साउदी राजपरिवारसम्म

फर्लो लिनेमा टोनी ब्लेयर र डोनाल्ड ट्रम्प पनि

नेपाली लिङ्क मार्च २०, २०२१

लन्डन । बेलायतमा कोरोना महामारीका कारण बन्द तथा प्रभावित कम्पनीका कामदारको ८० प्रतिशत तलब सरकारले नै व्यहोर्ने ‘फर्लो स्कीम’ ले लाखौं मानिसको जागिर जोगाएको छ, हजारौं कम्पनी टिकाइराखेको छ ।  

महामारीको अफ्टेरो बेलामा सर्वसाधारणको दैनिक गुजारा प्रभावित हुन नदिन सरकारले ल्याएको राहत स्कीमबाट बेलायतमा एक करोड बढी कामदार लाभान्वित भएका छन् 

तर, फर्लोको राहत स्कीमबाट लक्षित वर्गले मात्र होइन, बेलायतकै धनाढ्यहरुदेखि साउदीको राजपरिवारका सदस्यसमेतले फाइदा उठाएका छन् ।  

बेलायती मिडिया ‘गार्डियन’ का अनुसार सरकारले उपलब्ध गराएको फर्लो स्कीम दाबी गर्ने कम्पनीमा बेलायतकै धनीहरुको सूचीमा रहने व्यक्तिदेखि साउदीका राजपरिवारका सदस्य र दुबईका शासकसम्म मालिक रहेका कम्पनी पनि छन् ।  

कतारी राज्यकै लगानी रहेको ‘हारोर्ड्स’ र कतारी सम्राटको आफ्नै साला मालिक रहेको रिज होटेलले फर्लोमार्फत्  ३० लाख पाउन्ड दाबी गरेका छन् । साउदी राजपरिवारका ४ सदस्यका नाममा रहेका ४ कम्पनीले ५५ हजार पाउन्ड फर्लो लिएका छन् ।  

दुबइको सरकार र सम्राट मोहम्मद बिन रशिद अल माकोटुमका लगानी रहेका कम्पनीले पनि फर्लो दाबी गरेका छन् ।  

त्यस्तै, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको दम्पतीका कम्पनी  र निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मालिक रहेको गल्फ कोर्स सम्मले फर्लो लिएका छन् ।  

यसअघि बेलायतकै सबैभन्दा धनी मानिसको सूचीमा एक नम्बरमा रहेका जिम रयाटक्लिफले पनि आफ्ना दुई होटेल र फेसन कम्पनीको लागि १ लाख ७५ हजार पाउन्ड फर्लो बुझेका छन् ।  

ब्रिटिश नेश्नल पार्टीले समेत १० हजार पाउन्ड फर्लो राहत लिएको छ ।  

महामारीका बेला संघर्षरत ‘गरी खाने वर्ग’ लाई लक्षित फर्लो स्कीमको ‘स्पिरिट’ विपरित धनाढ्यहरुले फाइदा उठाएकोमा बेलायत सरकारको आलोचना भएको छ ।

सरकारी राहतलाई लक्षित वर्गमै सिमित गर्न स्पष्ट नीति तय गर्न नसकेको आरोप विपक्षी लेबर पार्टीले लगाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू