शुक्रबार, वैशाख १४, २०८१
23:22 | ०४:०७

बेलायती प्रधानमन्त्रीले लगाए कोभिड खोप

नेपाली लिङ्क मार्च १९, २०२१

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड खोपको पहिलो डोज लगाएका छन् । शुक्रबार उनले सर्वसाधारणलाई खोप सुरक्षित छ भन्ने आश्वस्त पार्न अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाएका हुन् ।

५६ वर्षीय प्रधानमन्त्री जोन्सनले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस अस्पतालमा खोप लिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सनले सर्वसाधारणलाई खोप लगाउन अपिल गर्दै इंग्ल्याण्डको लकडाउन खुकुलो बनाउने पूर्व निर्धारित रोडम्याप ‘ट्रयाक’ मै रहेको पनि बताएका छन् ।

युरोपियन मेडिसिन्स एजेन्सीले एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको बताएपछि धेरै युरोपेली मुलुकले उक्त खोप लगाउन शुरु गरेका छन् । सो एजेन्सीले बिहीबार एस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने खतरा रहेको भन्ने कुरा प्रमाणित नभएको प्रष्ट पारेको थियो ।

बेलायतको औषधि नियामक निकाय मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले पनि एस्ट्राजेनेका खोपपछि रगत जम्ने समस्या देखिएको भन्नेमा कुनै प्रमाण नभेटिएको बताएको थियो । यसअघि एस्ट्राजेनेका खोपपछि रगत जम्ने समस्या आएको भन्दै युरोपेली ठूला देशसहित झण्डै दर्जन देशले यो खोप वितरण रोकेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू