मंगलबार, वैशाख ४, २०८१
07:08 | ११:५३

बेलायतमा कोरोनाबाट एक लाख २६ हजारको मृत्यु  

थप १०१ को मृत्यु

नेपाली लिङ्क मार्च १९, २०२१

लन्डन ।  बेलायतमा महामारी शुरु भएयता कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा  कोरोना संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार २६ पुगेको छ । आज सार्वजनिक तथ्याँक विगतका केहि शुक्रबारको तुलनामा निकै कम रहेको अधिकारीहरुले बताएका छन् ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ८०२ जना नयां संक्रमित थपिएका छन् । नयाँसँगै बेलायतमा कुल संक्रमितको संख्या ४२ लाख ८५ हजार ६८४ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ६ हजार ५४४ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८७९ रहेको स्वास्थ्य विभागले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ४९४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ८२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ८२ लाख बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ८२ लाख ७४ हजार ८०२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ६२ लाख ६३ हजार ७३२ जनाले खोपको पहिलो र २० लाख ११ हजार ७० जनाले दोस्रो डोज लिएका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर विभिन्न मुलुकले अस्ट्राजेनिका खोपमाथि लगाएको प्रतिबन्ध हटेसँगै उक्त खोप लगाउन शुरु गरिएको छ । फ्रान्स तथा जर्मनले शुक्रबारबाटै खोप लगाउन शुरु गरिसकेका छन् ।

यूके तथा युरोपेली नियामक निकायले बिहीबार अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेसंगै खोपमाथिको आशंका हटेको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार आफूले एस्ट्राजेनिकाकै खोपलाई रोजेको बताउंदै सबैले निर्धक्कसंग उक्त खोप लगाउन आग्रह गरेका छन् ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ‘साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको तथ्य सार्वजनिक भएसंगै यस खोपले पु:न निरन्तरता पाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू