मंगलबार, वैशाख ४, २०८१
10:38 | १५:२३

गैरकानूनी आप्रवासीप्रति थप कठोर बन्दै बेलायत

गैरकानूनी आप्रवासीलाई तेस्रो मुलुकमा राख्ने योजना

नेपाली लिङ्क मार्च १८, २०२१

बेलायती गृहमन्त्री प्रीति पटेल

लन्डन । बेलायत सरकारले गैरकानूनी इमिग्रेसन नियन्त्रणको प्रयासमा थप कडाईको तयारी थालेको छ ।

गैरकानूनी मार्गबाट बेलायत आउने आप्रवासीहरुलाई तेस्रो मुलुक पुरयाएर मात्र ‘एसाइलम’ आवेदन गर्न पाउने सुविधा दिने नियम ल्याउने तयारी गरिएको छ ।

बेलायती मिडियाहरुका अनुसार गृहमन्त्री प्रीति पटेलले आगामी साता नयाँ नियम घोषणा गर्दैछन् । जसमा गैरकानूनी मार्गबाट बेलायत भित्रिने आप्रवासीले बेलायतमै रहेर ‘एसाइलम’ आवेदन गर्न पाउने सुविधा कटौती गरिंदैछ ।

नयाँ नियमपछि गैरकानूनी बाटोबाट बेलायत आउनेहरुले ‘एसाइलम’ आवेदन गर्दा तेस्रो मुलुकमा राखिनेछ । गैरकानूनी आप्रवासीहरुको केस विचाराधीन रहेकै अवस्थामा समेत देशनिकाला गर्ने अष्ट्रेलियाको जस्तै नीति बेलायतले पनि कार्यान्वयनमा ल्याउन चाहेको हो ।

मुख्यत विभिन्न युरोपेली मुलुकबाट च्यानल क्रसिङ हुँदै लुकीछिपी बेलायत भित्रिनेहरुलाई लक्षित गरी नयाँ नियम ल्याउने तयारी गरिएको हो । उनीहरुको एसाइलम आवेदनको अवधिमा तेस्रो मुलुकमा राख्ने गरी नयाँ नियमको तयारी भइरहेको बताइएको छ ।  

बेलायत युरोपेली संघबाट बाहिरिएपछि च्यानल क्रसिङमार्फत आउने गैरकानूनी आप्रवासीहरुको व्यवस्थापन झन चुनौतीपूर्ण बनेको छ । उनीहरु युरोपको जुन देशबाट आएका हुन्, सोही देश फर्काउने सुविधा अहिले बेलायतलाई छैन् ।

गैरकानूनी आप्रवासी बेलायतको एक प्रमुख समस्या रहँदै आएको छ । बेलायती सरकारहरुले गैरकानूनी इमिग्रेसन नियन्त्रणको प्रयासलाई आफ्नो प्राथमिकतामै राख्दै आएपनि यो समस्या उत्तिकै कायम छ ।

युरोपेली संघबाट बहिर्गमनपछि बेलायतले अंकमा आधारित नयाँ अध्यागमन कानून कार्यान्वयन गरेको छ । जसले क्षमता र सीपको आधारमा विदेशीहरुलाई बेलायतका ढोका खुला गरिदिएका छ ।

युरोपेली र गैरयुरोपेली सबै मुलुकका लागि अहिले बेलायतको अध्यागमन कानून समान छ । आउँदो साता गृहमन्त्री पटेलले गर्ने घोषणामा इमिग्रेसन व्यवस्थापनसम्बन्धि थप नीतिहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू