बिहीबार, वैशाख ६, २०८१
17:03 | २१:४८

भुम्दीकोट समाज यूकेले पायो नयाँ नेतृत्व

नेपाली लिङ्क मार्च १८, २०२१

लन्डन । भुम्दीकोट समाज यूकेले नयाँ नेतृत्व पाएको छ । गत आइतबार भर्चुअल रुपमै सम्पन्न समाजको अधिवेशनले राम गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष योगेश गुरुङ, उपाध्यक्ष मीमकाजी गुरुङ, महासचिव प्रदिप गुरुङ, ससचिव सन्दिप गुरुङ, कोषाध्यक्ष अर्जुन पौडेल, सह-कोषाध्यक्ष राजेन्द्र गुरुङ छन् ।

निर्वाचन समितिका तर्फबाट संस्थाका संस्थापक अध्यक्ष गमबहादुर गुरुङले नवनिर्वाचित सातौं कार्यसमितिको घोषणा गरेका थिए । संस्थाका प्रमुख सल्लाहकार मेजर जय बहादुर गुरुङ (एमभिओ) को संयोजकत्वमा रहेको निर्वाचन समितिमा संस्थापक अध्यक्ष गमबहादुर गुरुङ, सल्लाहकार जुक्त्तबहादुर गुरुङ र सल्लाहकार सुर्यबहादुर गुरुङ सदस्य थिए ।

नवनिर्वाचित अध्यक्ष राम गुरुङले आफ्नो मन्तव्य राख्दै जन्मभूमिको विकासका लागि तन, मन र धनसहित काम गर्ने अठोट गरे । उनले जुमकाजी गुरुङको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिका साथै सबै अग्रज एवम् समाजका सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि सबैको सल्लाह, सुझाव र सहयोग लिएर अघि बढ्ने उनको धारणा थियो ।

यसअघि निवर्तमान समितिका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न संस्थाको छैठौं अधिवेशनमा महासचिव केदार गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महासचिवको प्रतिवेदनमा नेपालमा लकडाउनका बेला हुँदा भुम्दी गाउँलाई राहत वितरण गर्नका साथै भुम्दी टुनारा आमा समुहको भवन निर्माणका लागि मेजर जय बहादुर गुरुङ ज्युको संयोजनमा पचास लाख रुपिया, काब्रे देउराली स्वाँरा आमा समूहको भवन निर्माणका लागि योगेश गुरुङ र नन्दराम गुरुङको संयोजनमा ४२ लाख रुपिया र १४औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनका लागि योगेश गुरुङको च्यारिटी रनमार्फत साढे ७ लाख रुपिया संकलन भएको जानकारी गराइएको थियो ।

त्यसअवसरमा संस्थाका कोषाध्यक्ष नन्दराम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहभागीहरुले संस्थाले सञ्चालन गर्ने विभिन्न सामाजिक कार्यहरुसम्बन्धि एजेण्डामा छलफल गरेका थिए । अध्यक्ष जुमकाजी गुरुङले अधिवेशनमा सहभागी समाजका सबै सदस्यलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने समाजका सबैप्रति आभार व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २२ मा अवस्थितभुम्दी गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि एउटा सुन्दर गन्तव्य बन्न सफल भुम्दी गाउँमा शक्त्तिका पिठहरु बरहा, भूमि, शिल्डु, सिद्ध र राम लक्ष्मण मन्दिरहरुका काखमा भुम्दी, टुनरा, काभ्रे, देरली स्वारा, चुत्राल र चाल्से डाडागाउँहरु सुन्दर मालाजसरी सजिएका छन् ।

भुम्दी गाउँको पश्चिममा पन्चासे, पूर्वमा शान्ति स्तुपा, पोखरा, दक्षिणमा फुस्रे खोला, सिद्धार्थ राजमार्ग र उत्तरमा कास्किकोट पर्छन् । जहाँबाट मनमोहक माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमशृंखलालहरु दृश्यावकलोकन गर्न सकिन्छ ।

भुम्दीकोटबाट बेलायत आएकाहरुको संस्थाका रुपमा १४ वर्षअघि स्थापित समाजले गाउँको विकास र गाउँवासीको सहयोगका लागि विभिन्न परोपकारी काम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू