बुधबार, वैशाख १२, २०८१
02:54 | ०७:३९

बेलायतको जनगणनामार्फत पहिचान खोज्दै नेपाली

नेपाली लिङ्क मार्च १८, २०२१

लन्डन । बेलायतका नेपाली यतिखेर आफ्नो पहिचान स्थापित गर्न सामूहिक रुपमा जुटेका छन् । संयुक्त अधिराज्य (बेलायत) का चार राज्यमध्ये इंग्ल्यान्ड, वेल्स् र उत्तरी आयरल्यान्डमा यही मार्च २१ तारिख हुने राष्ट्रिय जनगणनामार्फत आफ्नो पहिचानका लागि बेलायतको नेपाली डायष्पोरा जुटेको हो ।

स्कटल्याण्डमा भने अर्को वर्ष सन् २०२२ मा मात्र जनगणना हुनेछ । हरेक १० वर्षमा हुने जनगणना बेलायतमा सन् १८०१ देखि शुरु गरिएको इतिहास छ ।

जनगणनामा नेपाली सहभागिताका लागि सेन्टर फर नेपाल स्टडिज यूके, एनआरएनए यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूके, एनआरएनए यूके इंग्ल्याण्ड र वेल्स् राज्य समन्वय परिषद, डार्टफोर्ड नेपाली समाज यूके लगायत विभिन्न नेपाली संघसंस्थाले अभियान नै शुरु गरेका छन् ।

जनगणना फारामको इथ्नीक ग्रुप (सामूहिक जातीय) सेक्सनमा ‘नेपाली’ र मुख्य भाषाको प्रश्नमा पनि ‘नेपाली’ नै लेख्न ति संघसंस्थाको अपिल छ । हाइ प्रोफाइल व्यक्ति र सेलिब्रिटीहरुले पनि भिडियो सन्देशमार्फत जनगणनामा भाग लिन अनुरोध गरिरहेका छन् ।

सेन्टर फर नेपाल स्टडिज यूके (सिएनएस यूके) का संस्थापक डा. कृष्ण अधिकारीका भनाइमा सेन्ससका धेरै मध्ये दुईवटा प्रश्न नेपालीका लागि अति महत्वपूर्ण छन् । ती हुन् सामूहिक जातीय (इथ्नीक ग्रुप) पहिचानको प्रश्न र भाषाको प्रश्न ।

पहिलो प्रश्नले बेलायतमा नेपालीमूलका मानिस कति छन् थाहा पाउन र सरकारले आफ्ना सहयोग कार्यक्रम एवं योजना बनाउन सघाउने अधिकारीले बताए ।

बेलायत (इंग्ल्यान्ड, वेल्स्) मा मान्यता प्राप्त १८ वटा मुख्य जातीय (इथ्नीक) समूह छन् । ‘हामी पनि मुख्य समूहमा दर्ता हुन र राष्ट्रियरुपमा नेपालीको पहिचान हुने गरि प्रतिनिधित्व बढाउन चाहन्छौं’, डा. अधिकारीले भने, ‘हाम्रो सामूहिक पहिचान नेपाली हो र सो नै लेख्नु पर्छ । त्यो बाहेक अरू जस्तैः गोर्खा लेखेमा हाम्रो संख्या बांडिन्छ । त्यसो भयो भने घाटा हामीलाई नै हुन्छ ।’

जनगणनामा बेलायत सरकारले रैथाने पहिचान नेपालीलाई स्वीकार गरेर ‘नेप’ हान्ने बित्तिकै यही शब्द आउने अनलाइन व्यवस्था गरिदिएको जनाउंदै अधिकारीले नेपाली विवादरहित पहिचान रहेको बताए ।

बेलायतमा अहिले हजारौं संख्यामा वयोवृद्ध भूतपूर्व गोर्खा र तिनका परिवार बसोबासरत छन् । अधिकांश सरकारी सहयोग (पेन्सन क्रेडिट) मा आश्रित छन् । उनीहरूमध्ये कयौं अंग्रेजी मात्र होइन्, नेपाली भाषामा पनि निरक्षर छन् ।

स्थानीय काउन्सिलहरुलाई सार्वजनिक महत्वका सूचनाहरु नेपाली भाषामै प्रकाशित गर्न लगाउन पनि ‘मुख्य भाषा’ सेक्सनमा नेपाली नै लेख्न अधिकारीले आग्रह गरे ।

इंग्ल्यान्ड र वेल्स्को जनगणना गर्ने अफिस फर नेशनल स्टाटिसटिक्स (ओएनएस) का सामुदायिक सल्लाहकार समिर गुरुङ अहिले नेपाली समुदायलाई जनगणनामा भाग लिन प्रेरित गरिरहेका छन् । जनगणना विवरणकै आधारमा स्थानीय तहले नीति निर्माण, बजेट, यातायात, स्वास्थ्य, शिक्षा जस्ता सेवामा आफ्नो योजना बनाउने भएकाले एक दशकमा आउने मौका नछुटाउन गुरुङको सल्लाह छ ।

जनगणनामा सहभागी नभए एकहजार पाउण्डसम्म जरिवाना लाग्नेछ ।

जनगणनामा नेपाली समुदायको यथार्थ विवरण आउन सके यसबाट नेपाली समुदायलाई बेलायतका स्थानीय काउन्सिलहरू, स्वास्थ्य सेवा, शैक्षिक क्षेत्र लगायतबाट पर्याप्त सेवा उपलब्ध हुन सक्ने बताउंछन् नेपाल अध्ययन केन्द्र बेलायतका रिसर्च एसोसिएट नरेश खपांगीमगर ।

‘सरकारले जारी गर्ने स्वास्थ्य लगायतका महत्वपूर्ण सूचनाहरू नेपाली भाषामा प्रकाशन हुनेछन् । विभिन्न निकायमा लिइने अभिलेखमा आफ्नो पहिचानमा नेपाली लेख्ने महल खडा हुन सक्नेछ । यसबाट हाल यूकेमा रहिरहेका नेपालीलाई मात्र होइन भविष्यका नेपाली पुस्तालाई पनि फाइदा पुग्ने छ’, मगरले भने ।

अहिले बेलायतमा करिब डेढ देखि दुई लाख नेपाली रहेको अनुमान छ । सिएनसएस यूके र एनआरएनए यूकेले सन् २००८ मा संयुक्त रूपमा गरेको सर्वेक्षणले यहां नेपालीको संख्या ७२ हजार १७३ देखाएको थियो । त्यसको तीन वर्षपछि सन् २०११ मा भएको बेलायतको राष्ट्रिय जनगणनामा इंग्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपाली रहेको देखाएको थियो ।

पछिल्ला वर्षमा भूतपूर्व गोर्खा र तिनका परिवारको उल्लेख्य आगमनले पनि नेपाली जनसंख्या बढेको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू