शुक्रबार, वैशाख १४, २०८१
07:11 | ११:५६

अबदेखि बेलायतका उबर चालकलाई जागिरेजस्तै सुविधा

नेपाली पनि लाभान्वित

नेपाली लिङ्क मार्च १७, २०२१


लन्डन । उबर कम्पनीसंग जोडिएर काम गर्ने बेलायतका ७० हजार बढी टयाक्सी चालकहरु आजदेखि कम्पनीका जागिरे बनेका छन् ।

उबर चालकहरुलाई जागिरेकै रुपमा कम्पनीले आधारभूत सुविधाहरु उपलब्ध गराउनुपर्ने अदालती फैसलाको कार्यान्वयनस्वरुप आजदेखि उनीहरुको ‘इम्प्लोइमेन्ट स्टाटस’ परिवर्तन हुने भएको हो ।

यसअघि उबर कम्पनीले आफूअन्तर्गत काम गर्ने चालकहरुलाई ‘सेल्फ इम्प्लोइड कन्ट्याक्टर’ को रुपमा राख्ने गरेको थियो । जसअनुसार उनीहरुले पूरा गरेको ‘ट्रीप’ को लागि मात्रै ज्याला पाउने गर्थे ।

तर उनीहरुलाई कम्पनीकै जागिरेको रुपमा आधारभूत सुविधा र रोजगारीको सुरक्षा दिलाउन मागसहित दर्ता भएको मुद्धामा गत महिना सुप्रिम कोर्टले उबरका विपक्षमा फैसला सुनाएको थियो ।

अदालतको फैसला बुधबारदेखि कार्यान्वयनमा आएपछि अब उबर कम्पनीअन्तर्गत काम गर्ने चालकहरुलाई न्यूनतम ज्याला ग्यारेन्टी हुनेछ । उनीहरुले अन्य कम्पनीका कामदारहरु जस्तै ‘होलिडे पे’ र ‘पेन्सन स्कीम’मा पनि समावेश हुनेछन् । ‘सिक पे’ भने यसअघि पनि दिंइदै आएको उबरले बताएको छ ।

तर अझैपनि उबर चालकहरुले कुनै पनि ‘ट्रीप’ को अर्डर स्वीकार गरिसकेपछिको अवधिका लागि मात्रै ज्याला पाउनेछन् । उबर एपमा लग इन गरेदेखिकै ज्याला दिलाउनुपर्ने माग अदालतको पछिल्लो फैसलाबाट सम्बोधन भएको छैन ।

उबर कम्पनीले चालकहरुले सुविधा नपाएको विगतको अवधिलाई पनि ‘रिभ्यू’ गरेर आगामी भुक्तानीमा व्यवस्थापन गरिने जनाएको छ ।

नयाँ व्यवस्था उबरमार्फत ट्याक्सी चलाउनेहरुको हकमा मात्रै लागू हुनेछ । ‘उबरइट’ मार्फत खाना डेलिभरी गर्ने चालकहरु भने अझै पनि सेल्फ ‘इम्प्लोइड कन्ट्रयाक्टर’ कै रुपमा रहनेछन् । जसकारण उनीहरुले पूरा गरेको ट्रीपको लागि मात्रै ज्याला पाउनेछन् ।

नेपाली पनि लाभान्वित

बेलायतमा उबर चालकहरुका लागि गरिएको नयाँ व्यवस्थाबाट यस कम्पनीमा कार्यरत नेपालीहरु पनि लाभान्वित हुने भएका छन् । बेलायतमा उबर चालकका रुपमा टयाक्सी चलाउने नेपालीहरु पनि सयौं रहेको ठानिन्छ ।

४ वर्षदेखि लन्डनमा उबर टयाक्सी चलाउँदै आएका एक नेपालीले नयाँ व्यवस्थामा समेटिएको होलिडे र पेन्सनको स्कीमले चालकहरुलाई राहत दिलाउने बताए । ‘अहिले भर्खर परिवर्तन गरिंदैछ । सबै कुरा के कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ’, उनले नेपाली लिंकसंग भने, ‘तर होलिडे र पेन्सनको सुविधाबाट चालकहरु लाभान्वित हुन सक्ने आशा छ ।’

न्यूनतम ज्यालाको सुविधाले भने व्यवहारिक रुपमा खासै उपयोगी नहुने उनी बताउँछन् । ‘ट्रीप अर्डर स्वीकार लिइसकेपछिको अवधिमा कसैले न्यूनतम ज्याला बराबरको रकम पनि कमाउन नसके कम्पनीले ‘टप अप’ गरिदिने भनिएको छ । गाडी चलाइरहेकै बेलामा न्यूनतम ज्यालासम्मको पैसा नबन्ने भन्ने हुँदैन’, उनले भने ।

उबर एपमा लग इन गरेपछिकै अवधिको लागि ज्याला भुक्तानी हुने खण्डमा मात्रै ट्रीप नपाउने चालकहरुले लाभ लिन सक्ने उनको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू