शनिबार, वैशाख ८, २०८१
05:50 | १०:३५

बेलायतमा कोरोनाबाट थप ११० को मृत्यु

५ हजार २९४ नयां संक्रमित

नेपाली लिङ्क मार्च १६, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमित र मृत्युदर संख्यामा निरन्तर कमी हुंदै गएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा ११० जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ६९० पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार २९४ जना संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै कुल संक्रमितको संख्या ४२ लाख ६८ हजार ८२१ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ७ हजार २८१ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार १६ छ ।

पछिल्लो २४ घन्टामा ४६४ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ६५ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ६५ लाख भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।

मंगलबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ६५ लाख ३ हजार ५५२ पुगेको छ ।

बेलायतमा दुई करोड ४८ लाख ३९ हजार ९०६ जनाले खोपको पहिलो र १६ लाख ६३ हजार ६४६ जनाले दोस्रो डोज लिएका छन् ।

कोरोना संक्रमणमा कमी आएपनि बेलायतले बाह्य मुलुकबाट आउने पर्यटकलाई थप कडाइ गरेको छ ।

कोरोना महामारीको उच्च जोखिममा रहेको भन्दै इंग्ल्याण्डले ३३ वटा मुलुकलाई ‘रेड लिष्ट’ मा राख्दै आएकोमा आउँदो सोमबारबाट अन्य केहि मुलुक पनि समावेश गरेको छ ।

नेपालीहरुको निकै चहलपहल हुने मुलुक कतारलाई पनि बेलायतले शुक्रबारबाट ‘रेड लिष्ट’ को सूचीमा राखेपछि नेपालीहरु थप संकटमा परेका छन् ।

१९ मार्च शुक्रबार बिहान ४ बजेपछि कतार हुंदै बेलायत आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड तिर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू