शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

डार्टफोर्डको अस्पतालमा नेपाली समाजले बांड्यो २ सय ‘लञ्च बक्स’

नेपाली लिङ्क मार्च १६, २०२१

लन्डन । डार्टफोर्ड नेपाली समाजले स्थानीय एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क भोजन गराएको छ ।  

डार्टफोर्डस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका लागि समाजले २ सय ५ वटा ‘लञ्च बक्स’ प्रदान गरेको अध्यक्ष गजेन कटुवालले जानकारी दिए ।  

मंगलबार समाजका अध्यक्ष कटुवाल, महासचिव लेखनाथ खरेल, कोषाध्यक्ष हरि हडखलेसहितका प्रतिनिधि अस्पताल पुगेर खाना हस्तान्तरण गरेका थिए ।  

प्लमस्टिडस्थित गोर्खा क्लबले लागत मूल्य मात्रै लिएर मम, चाउमिन लगायत नेपाली खानाको ‘लञ्च बक्स’ तयार गरिदिएको थियो । खानाका लागि आवश्यक खर्चको प्रबन्ध गर्न समाजका सदस्यहरुबाट सहयोग संकलन गरिएको थियो ।  

समाजका अध्यक्ष गजेन कटुवालले महामारीविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सम्मान र हौसला बढाउने कोशिश् गरिएको बताए । सांकेतिक रुपमा धन्यवाद ज्ञापन गर्न खोजिएको उनको भनाइ छ ।  

नेपालीहरुको उल्लेख्य बसोबास रहेको डार्टफोर्डस्थित ड्यारेन भ्याली अस्पतालमा कयौं नेपाली समेत स्वास्थ्यकर्मी र कर्मचारीका रुपमा कार्यरत छन् ।  

स्वास्थ्यकर्मीहरुलाई खाना वितरणका लागि सहयोग गर्ने समुदायका सदस्य, लागत मूल्यमै खाना उपलब्ध गराउने गोर्खा क्लब र खाना वितरण कार्यमा सघाउने अस्पतालको ‘वेल बिइङ टीम’ प्रति समाजले आभार प्रकट गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू