शनिबार, वैशाख ८, २०८१
06:17 | ११:०२

बेलायती सेनामा नेपाली युवतीको भर्ती खोल्न नेपाललाई फकाउँदै बेलायत

नेपालसँग वार्ताहरु 'प्रगतिउन्मुख'

नेपाली लिङ्क मार्च १२, २०२१

फाइल तस्विर

लन्डन । दुई सय वर्षभन्दा लामो समयदेखि नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्दै आएको बेलायतले नेपाली युवतीको भर्ती खुला गर्न नेपाल सरकारसँग लबिङ गरिरहेको छ ।  

बेलायती सेनाको गोर्खा ब्रिगेडका लागि नेपालबाटै युवतीहरु भर्ती गराउने आफ्नो घोषणा कार्यन्वयनमा ल्याउने प्रयासमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता अघि बढाएको जनाइएको छ ।  

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले युवती भर्तीका सम्बन्धमा नेपाल सरकारसँग भइरहेका वार्ताहरु प्रगतिउन्मुख रहेको बताएकी छन् ।  

बेलायती सेनामा भर्ती भएका युवाहरुको पछिल्लो ‘रिक्रुट’ को शपथका अवसरमा पोखरामा  राजदूत पोलिटले भनिन्, ‘बेलायत नेपाली युवतीलाई आफ्नो सेनामा स्वागत गर्न आतुर छ । यसलाई सकेसम्म चाँडो सम्भव गर्न हामी नेपालसँग वार्ता गरिरहेका छौं ।’

नेपालसंगको वार्ता प्रगतिउन्मुख भएको जनाउँदै उनले चाँडै नेपालबाट युवती भर्ती शुरु हुने अपेक्षा राखेको सुनाइन् ।  

गोर्खाहरुलाई बेलायत र नेपालबीचको २ सय वर्ष पुरानो कूटनीतिक सम्बन्धको प्रमुख आधार भन्दै राजदूत पोलिटले नेपाली युवतीको भर्तीले दुई देशीय सम्बन्ध थप बलियो बनाउने काम गर्ने आशा व्यक्त गरिन् ।

यसअघि बेलायत सरकारले सन् २०१८ मै बेलायती सेनाको गोर्खा ब्रिगेडमा नेपालबाट युवतीहरु पनि भर्ती लिने घोषणा गरेको थियो । तर नेपाल सरकारको सहमति पाउन नसकेका कारण अहिलेसम्म युवतीको भर्ती शुरु हुन सकेको छैन ।  

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यसअघि बेलायती सेनामा नेपाली युवती भर्ती गर्ने बेलायतको घोषणामा ‘रिभ्यू’ आवश्यक रहेको धारणा सार्वजनिक गरेका थिए ।  

२ सय वर्षभन्दा लामो समयबाट नेपाली युवाहरु बेलायती भर्ती हुँदै आएपनि अहिलेसम्म नेपालबाट युवती भर्ती भएका छैनन् ।

बेलायतले पछिल्ला वर्षमा नेपालबाट भर्ती लिने नयाँ रिक्रुटको संख्या केही बढाएको छ । गत वर्ष ४ सय जना भर्ती भएकोमा यस वर्ष झन बढी ४ सय ३२ जना भर्ती भएका छन् । बेलायती सेनामा अहिले कार्यरत गोर्खाहरुको संख्या ३ हजार बढी छ ।

यस वर्ष नेपालबाट बेलायती सेनामा छनोट भएका  नयाँ ‘रिक्रुट’ को  भर्ती प्रक्रिया पूरा भएको छ । कोरोना महामारीका कारण गत वर्षकै आवेदकहरुमध्येबाट यस वर्ष छनोट गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू