शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

बेलायतका नयां राजदूतको अठोट- दूतावास २४ सै घण्टा नेपालीको सेवामा

नेपाली लिङ्क मार्च ९, २०२१

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मीले दूतावास २४ सै घण्टा नेपाली समुदायका साथ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनए यूकेले मंगलबार सांझ राजदूत रेग्मीको स्वागत तथा सम्मानमा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उनले दूतावास कहिल्यै ननिदाउने र नेपाली समुदायको सहकार्यमा आफ्नो जिम्मेवारीलाई नेपाल र नेपालीको हित, विकास, सभ्यता र संस्कृतिको पक्षमा भूगोलको सीमाभन्दा माथि उठेर समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सरकारले संरक्षक, अभिभावक, प्रवर्धकको भूमिका दिएकाले आफूले बेलायतमा रहेका समस्त नेपालीसंग 
२४ सै घण्टा साथमा रहेर काम गर्ने बताए ।

‘दूतावास निदाउने छैन्, सधैं सक्रियताका साथ लाग्ने छ’, रेग्मीले भने, ‘मैले संवेदनशील भएर काम गर्न मेरा कर्मचारीहरुलाई भनिसकेको छु । दूतावासका नीतिगत र व्यवहारिक विषयमा हामी सधैं नेपाली समुदायबाट साथ सल्लाह अपेक्षा गर्दछौं । दूतावास प्रभावकारी र छिटो छरितो सेवा उपलब्ध गराउन सदा तत्पर रहनेछ ।’

सेवा प्रवाहको हक र अन्य विषयमा कार्य गर्दा कुनै अप्ठेरो नपर्ने गरि खुल्ला रुपमा सबै मिलेर काम गर्ने मुल्य र मान्यताबाट प्रेरित भएर काम गर्ने पनि उनले बताए । दूतावासले नेपाली समुदायबाट पनि सहयोग माग्ने रेग्मीको भनाइ थियो । जीवन्त सम्बन्धका साथ काम गर्दै अगाडि बढ्ने प्रण राजदूत रेग्मीको छ ।

कमी कमजोरीलाई सच्याउने र सम्बोधन गर्नेमात्र नभइ अवसरहरुको खोजी पनि गरिने उनले बताए ।

मन्तव्यका क्रममा बेलायत र नेपाल सरकार, नेपाली र बेलायती जनताको बहुआयामिक पक्षलाई थप समृद्ध बनाउन कुनै कसर बांकी नराखिने पनि उनले बताए । जहिले पनि नेपाल र नेपालीको दिग्विजय हुनुपर्ने बताउंदै राजदूत रेग्मीले नेपाल र नेपालीको हित सम्बोधन हुने कार्यमा एनआरएनएबाट सहयोग र सहकार्यमा अघि बढ्ने पनि उनले बताए ।

आर्थिक विकास र त्यो संग जोडिएका लगानी, पर्यटनसहित विशिष्ट प्रकृतिका विषय सम्बोधन गर्न सहकार्य गरेर निरन्तर लागिरहने प्रण उनले गरे । रेग्मीले कठिन परिस्थितिमा पनि कार्यक्रम गरेर आफूलाई शुभकामना र स्वागत गरेकामा एनआरएनए यूकेसहित सबैप्रति आभार व्यक्त गरे ।

सन् १९६६ मा स्याङ्जामा जन्मिएका राजदूत रेग्मीले लन्डनस्थित दूतावासमा गत १ मार्चदेखि पदबहाली गरेका थिए । लन्डन आउनुअघि उनी नेपाल सरकारको मुख्य सचिवको जिम्मेवारी वहन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबैभन्दा पुरानो नियोगमा काम गर्न पाउंदा धेरै खुशी लागेको बताइन् । बेलायती नेपाली डायस्पोरा अत्यन्त परिपक्व, विविधतायुक्त र क्रियाशील भएको बताउंदै खनालले समुदायले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, साहित्य लगायत संवर्धनमा काम गरिरहेको बताइन् ।

दूतावासले आफ्नो सेवा प्रभावकारी र छिटो छरितो बनाउन प्रयास गरिरहेको र पहिलेभन्दा कुनै पनि कुरामा कमी आउन नदिने खनालले बताइन् । अति आवश्यक काम परेको बेला विदामा समेत दूतावासले सेवा दिने उनको भनाइ थियो ।

समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बेलायतमा नेपाली आगमनको इतिहास र नेपाली संघसंस्थाबारे अवगत गराए । उनले दुई देशबीच व्यापार, पर्यटन लगायत धेरै क्षेत्रमा काम गर्न सकिने सम्भावना औंल्याउंदै लन्डन नेपाल सिधा हवाइ उडान सञ्चालनमा समेत पहल गर्न ध्यानाकर्षण गराए ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले नवनियुक्त राजदूत रेग्मीलाई बेलायतमा स्वागत गर्दै एनआरएनए र दूतावासबीचको सहकार्य एवं सहयोग उनको कार्यकालमा झन् बढ्दै जाने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा, सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्य, 
बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, गोर्खा टास्कफोर्स संयोजक एवं मानार्थ सदस्य ले. रि. चन्द्रबहादुर गुरुङ लगायतले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताले एनआरएनए र दूतावासबीचको समन्वय र सहकार्यको ‘लिगेसी’ नवनियुक्त राजदूतको कार्यकालमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । दुईदेशबीचको कूटनीतिक सम्बन्ध अभिवृद्धिसंगै नागरिकता र भूतपूर्व गोर्खा मुद्दालाई समेत गम्भीर रुपमा लिन उनीहरुले सुझाए ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम 
सञ्चालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका संरक्षकहरु सुर्य गुरुङ र योगकुमार फगामी, आइसीसी सदस्यहरु, मानार्थ परिषद सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, गोर्खा अभियन्ता लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू