बिहीबार, चैत १५, २०८०
17:29 | २३:१४

पुरुष बराबर अधिकार माग्दै महिलाहरुले लन्डनमा मनाए नारी दिवस

नेपाली लिङ्क मार्च ८, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आइतबार राष्ट्रिय अन्तरराष्ट्रिय महिला अधिकारकर्मीहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

कार्यक्रमका वक्ताहरुले महिला समानता र जागरूकताका लागि कटिवद्ध रहन सुझाउंदै समयको परिर्वतनसंगै महिला सशक्त हुंदै गएपनि उनीहरुमाथि हुने हिंसा कायमै रहेको औंल्याए ।

हरेक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रचलन पनि छ ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथीहरु बेजिङस्टोक एमपी मारिया मिलर र दि वुमेन्स काउन्सिल लन्डनकी अध्यक्ष डोरिस लेडी बटरवर्थले नारी दिवसको शुभकामना दिए ।

महिलावादी अधिकारकर्मीहरु पौरखी नेपालकी संस्थापक मन्जु गुरुङ, लैंगिक समानताका लागि राजनीतिक अभियन्ता मानुसी यमी भट्टराई, लैंगिक समानता तथा सामाजिक समावेशीता विज्ञ भारती सिलवाल गिरी र भारतकी महिलावादी अधिकारकर्मी र सामाजिक विज्ञ कमला भासिन प्रमुख वक्ता थिए ।

युवा प्रतिनिधित्व गर्दै चेल्सी गुरुङ, आकांक्षा गुरुङ र रुब्समा राउत क्षेत्रीले आफ्नो धारणा राखेका थिए । बीचमा प्रश्नोत्तर समेत गरिएको थियो ।

महिलावादी नेतृ कमला भासिनले नेपाली महिलाले आफू र समाजमा ल्याएको परिवर्तनको प्रशंसा गर्दै दक्षिण एसियाली मुलुकहरुको पित्तृसत्तात्मक संरचनाविरुद्ध एक्यवद्धता रहेको उल्लेख गरिन् । उनले महिलाहरु कुनै वस्तु वा जनावर नभएको धारणा राख्दै लंगिक समानताविना समाज परिवर्तन हुन नसक्ने र शान्ति पनि नहुने बताइन् । महिला र पुरुष दुवैले बराबर सम्पत्ति किन नपाउने ? भाइ टिकामात्र किन ? महिलाले किन थर परिवर्तन गर्नुपर्ने पुरुषले गरे हुन्न जस्ता प्रश्न पनि राखेकी थिइन्।

कार्यक्रममा बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरले अमेरिकी प्रथम महिला उपराष्ट्रपतिको सफलता उल्लेख गर्दै नेपाली महिलालाई पनि नेतृत्वदायी भूमिकामा आउन सुझाव दिइन् । महामारीका बेला महिला स्वास्थ्यकर्मी र वैज्ञानिकहरुको योगदानको पनि उनले चर्चा गरेकी थिइन् ।

लन्डन वुमेन्स् काउन्सिल अध्यक्ष डोरिस बटरले आफ्नो संस्थाले तीन नेपाली विद्यार्थीको शिक्षामा रेखदेख गरेको बताउंदै यसलाई अझ वृद्धि गर्ने सोच रहेको जनाइन् । आफ्नो संस्थाले विद्यार्थी र अपांगता भएका महिलालाई शिक्षणमा सघाइरहेको पनि डोरिसको भनाइ थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले संस्थाकै पहिलो महिला अध्यक्षका क्रममा आफूले संगालेका अनुभवहरु सुनाइन् ।

‘मैले पनि पुरुषहरुसंगै प्रतिस्पर्धा गरेर आएकी हुं । महिलाहरुको लागि चुनौती बढी छन्, तर विशेष सुविधा केही छैनन्’, अध्यक्ष गुरुङले भनिन्, ‘समाजमा अघि बढ्नका लागि ती चुनौतीहरुको सामना गर्नैपर्दो रहेछ, प्रतिस्पर्धा गरेरै आउन पर्दोरहेछ । चुनौती सामना गर्न नसके अघि बढ्न सकिंदैन् ।’

लैंगिक समानता स्थापनाका लागि महिला सशक्तिकरण जरूरी रहेको भन्दै उनले एनआरएनए अभियानसहित सामाजिक क्षेत्रमा महिला सहभागिता र सक्रियता प्रबर्द्धन गर्न आफू क्रियाशिल रहने जनाइन् ।

लैंगिक समानताबिना सभ्य र समृद्ध समाजको कल्पना हुन नसक्ने धारणा अध्यक्ष गुरुङको थियो । ‘हरेक परिवारमा, समाजमा र राष्ट्रमा महिला र पुरुषबीच समानता भएपछि मात्रै समृद्धि सम्भव छ । विभेदयुक्त समाजमा समृद्धि खोजेर भेटिंदैन्’ उनले भनिन् ।

युवा वक्ताहरुले महिला स्वतन्त्रता, शिक्षा, राजनीतिक सहभागिता जस्ता मुद्दामा अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याए । उनीहरुले नेपालमा हरेक महिलालाई शिक्षा दिइनुपर्ने उल्लेख गर्दै महिलामाथि दाइजो प्रथा, एसिड आक्रमण, बलात्कार तथा यौन हिंसा बढावाप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा राज्य पक्षले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए ।

गौमाया गुरुङले मध्यस्तता गरेको उक्त कार्यक्रममा एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले स्वागत मन्तव्य दिएकी थिइन् ।

सो अवसरमा एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई र एनआरएनए यूके र्इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले पनि शुभकामनासहित क्रमशः काउन्सिल बैठक र सेन्सनबारे बोलेका थिए ।

कार्यक्रममा एनआरएनए आइसीसीका पदाधिकारीसहित बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र महिला अभियन्ताहरुको उल्लेख्य सहभागिता थियो ।

अन्त्यमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले धन्यवादसहित कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू