शनिबार, वैशाख १५, २०८१
21:34 | ०२:१९

अल्डरसट शिव कल्चरल सेन्टरमा जनगणना हेल्प डेस्क सञ्चालन

हेल्प डेस्कमार्फत ५३ परिवारको फारम बुझाइयो

नेपाली लिङ्क मार्च ७, २०२१


लन्डन । बेलायतमा यहि मार्च २१ मा हुने जनगणनामा यहाँको नेपाली समुदायको सहभागिता बढाउने पहलमा अल्डरसटमा हेल्प डेस्क सञ्चालन गरिएको छ ।  

जनगणनाको फारम आफैले भर्न नसक्ने स्थानीय नेपालीको लागि शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर, अल्डरसटमा आइतबार हेल्प डेस्क चलाइएको हो ।  

सेन्टरका सचिव विक्रम भट्टराईका अनुसार आइतबार बिहान १० देखि २ बजेभित्र हेल्प डेस्कमार्फत ५३ परिवारको फारम भरिएको छ ।  

सहयोगका लागि उपलब्ध गराइएको टेलिफोन नम्बरमा १ सय २० कल आएपनि निर्धारित समयमा सबैको विवरण भर्न नसकिएको उनले बताए । आउंदो शनिबार मार्च १४ मा पनि हेल्प डेस्क राखेर सहयोग आवश्यक पर्ने अन्यको फारम भरिदिने भट्टराईले जनाए ।  

हेल्पडेस्कको सूचना पाएर कतिपय स्थानीयहरु शिव कल्चरल सेन्टरमै पुगेका थिए । तर सामाजिक दूरी ‘मेन्टेन’ गर्नुपर्ने कारण उनीहरुलाई घरमै पठाएर टेलिफोनमार्फत् विवरण दिन लगाइएको थियो ।  

आइतबार सेन्टरका अध्यक्ष भिम बांनिया र सचिव विक्रम भट्टराई टेलिफोनमार्फत विवरण लिने र फारम भर्ने कार्यमा खटिएका थिए ।  

सेन्टरले जनगणना फारम भर्न सहयोग आवश्यक पर्ने अरु नेपालीहरुलाई आउंदो आइतबार १० देखि २ बजेसम्मको समयमा सेन्टरमा सम्पर्क गर्न आव्हान गरेको छ ।  

फारम भर्ने क्रममा लिइने सबै व्यक्तिगत विवरण सुरक्षित र गोप्य राखिने तथा फारम भरेलगत्तै नष्ट गरिने भएकाले ढुक्क भएर सहयोग लिन सकिने जनाइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू