बिहीबार, वैशाख १३, २०८१
00:09 | ०४:५४

बेलायतबाट डिग्री गर्नेलाई जुलाईदेखि २ वर्षको ‘वर्क पर्मिट भिसा’

नेपाली लिङ्क मार्च ४, २०२१

लन्डन । बेलायती विश्वविद्यालयबाट डिग्री पूरा गर्ने विदेशी विद्यार्थीले दुई वर्ष बेलायतमै बसेर काम गर्ने (वर्क पर्मिट) भिसाका लागि आउँदो जुलाईदेखि आवेदन गर्न पाइने भएको छ ।

आउँदो जुलाई १ तारिखदेखि ‘ग्रयाजुएट इमिग्रेसन रुट’ मा भिसा आवेदन खुला गरिने सूचना बिहीबार होम अफिसले जारी गरेको छ ।

बेलायत सरकारले विदेशी विद्यार्थीका लागि यसअघि नै यो सुविधा घोषणा गरेपनि अहिलेसम्म यसको कार्यान्वयन मिति तय भइसकेको थिएन ।

ग्रयाजुएट इमिग्रेसन रुटअन्तर्गत बेलायती विश्वविद्यालयबाट अन्डरग्रयाजुएट वा सोभन्दा माथिल्लो तहको डिग्री पूरा गर्ने विदेशी विद्यार्थीले डिग्रीपछि दुई वर्ष बेलायतमै बसेर काम गर्न पाउनेछन् । पिएचडी पूरा गर्नेहरुले तीन वर्षको काम गर्ने सुविधा पाउनेछन् । यो भिसा आवेदन गर्न ७ सय पाउण्ड शुल्क लाग्नेछ ।

यसअघि बेलायतबाट डिग्री पूरा गर्ने विदेशी विद्यार्थीलाई पोष्ट स्टडी वर्क (पिएसडब्लु) रुटमा दुई दिने गरिएको दुई वर्ष काम गर्ने सुविधा सन् २०१२ मा हटाइएको थियो ।

बेलायती विश्वविद्यालयबाट डिग्री पूरा गर्ने विद्यार्थीले आउँदो जुलाई १ देखि ग्रयाजुएट इमिग्रेसन रुटअन्तर्गत काम गर्ने भिसा आवेदन गर्न पाउनेछन् । तर, त्यसअघि नै भिसा सकिनेहरु भने यो सुविधाको लाभ लिनबाट बञ्चित हुनेछन् ।

लन्डनस्थित शैक्षिक परामर्शदाता ‘युनी ल्याडर’ कन्सल्टेन्सीका सञ्चालक गणेश खड्काका अनुसार ग्रयाजुएट इमिग्रेसन रुटबाट धेरै नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुनेछन् ।

‘पिएसडब्लु’ सुविधा हटाइएपछि पछिल्ला वर्षमा नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या घट्दै गएकोमा नयाँ सुविधाले फेरि आकर्षण बढाउने उनको आकलन छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू