![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन । बेलायतका लागि निवर्तमान नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी नेपाल फर्किनै लाग्दा यहाँका एक गोर्खा अभियन्ता ज्ञानराज राईले भनेका थिए, ‘हामीलाई त जानेभन्दा आउने राजदूतको पो बढी चिन्ता छ । डा सुवेदीले निकै राम्रो गरेर जाँदै हुनुहुन्छ, अब आउने राजदूतले जतिसुकै राम्रो गरेपनि उहाँकै दाँजोमा पुग्न सक्छन् जस्तो हामीलाई लाग्दैन ।’
गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक राईको टिप्पणीले बेलायतका लागि नयाँ नेपाली राजदूत लोकदर्शन रेग्मीसामु रहेका कयौंमध्येको एक मुख्य चुनौतीलाई उजागर गरेको छ । सोमबार मात्रै बेलायत उत्रिएर आफ्नो कार्यभार सम्हालेका राजदूत रेग्मी झनै राम्रो काम गरेर देखाउने चुनौती पार गर्न कत्तिको सफल रहन्छन्, परीक्षा शुरु भएको छ ।
डा दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाललाई अहिलेसम्म बेलायत आएका नेपाली राजदूतहरुमध्येकै उत्कृष्ट भन्नेमा यहाँको बहुमत नेपाली समुदाय सहमत देखिन्छ । उनको कार्यशैली र कार्यसम्पादनप्रति गुनासो नै नभएका होइनन्, तर विगतका अन्य राजदूतको तुलनामा सुवेदीको पालामा झनै राम्रा कामहरु भए भन्दा विमति राख्नेहरु सायदै कोही छन् ।
सन् १९७४ मा बेलायत आएका यती नेपाली एशोसिएसन यूकेका वर्तमान अध्यक्ष ध्रुव केसीले लण्डन दूतावासमा खटिएका एक दर्जन बढी (कार्यवाहक समेत) नेपाली राजदूतहरुका काम नजिकबाट नियाले । त्यसयताका सबै राजदूतहरुसंग कुनै न कुनै रुपमा सहकार्य गरेका केसी डा सुवेदीको कार्यकालमा ‘मिराकल’ नै भएको बताउँछन् ।
‘हुन त सबै महामहिमज्यूहरुले आ आफ्नो तर्फबाट कोशिस गर्नुभएको छ । विगतमा ईश्वरीराज पाण्डे, सुर्यप्रसाद श्रेष्ठहरुको पालामा पनि धेरै राम्रो भयो भन्ने लाग्छ । तर दुर्गाबहादुर सुवेदी आउनुभएपछि ‘मिराकल’ नै भयो । उहाँले सर्वोत्कृष्ट काम गर्नुभयो’, केसीले नेपाली लिंकसंग भने ।
सन् १९९२ देखि २०१५ सम्म नेपाल पर्यटन बोर्डबाट नियुक्त पर्यटन दूतका रुपमा काम गरेका केसी भन्छन्, ‘दूतावासमा यहाँका नेपालीको पहुँच सहज पार्ने मात्र होइन, कार्यसम्पादनमा समेत निकै सुधार ल्याउनुभयो । सबैलाई समेटेर काम गर्न सक्ने उहाँको क्षमताले सबैको मन जित्नुभयो जस्तो लाग्छ ।’
डा सुवेदीकै स्तरमा समुदायको मन जित्ने गरी काम गर्न नयाँ राजदूतले गतिलै मेहनत गर्नुपर्ने आँकलन केसीको छ ।
के छन् चुनौती ?
नेपालको सबैभन्दा पुरानो मैत्रीसम्बन्ध रहेको देश बेलायतमा नेपाली कूटनीतिक नियोग प्रमुखका रुपमा आएका छन् रेग्मी । तसर्थ उनको काँधमा सबैभन्दा ठूलो भारी कूटनीतिकै छ ।
हुन त रेग्मीले राजदूत पदमा नियुक्त हुनुअघि लिनुपर्ने महत्वपूर्ण ‘कूटनीतिक प्रशिक्षण’ नलिई जिम्मेवारी सम्हाल्न बेलायत आइपुगेको भनेर आलोचना पनि भएको अवस्था छ । तर आशा गरौं, कूटनीतिमा उनको कमी हुने छैन् ।
नेपालसंग दुई सय वर्षभन्दा लामो मित्रता रहेको बेलायतबाट अहिलेसम्म प्रधानमन्त्रीस्तरको भ्रमण हुन सकेको छैन । यसअघिका राजदूत सुवेदीले समेत बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने आकांक्षा राखे, तर सम्भव हुने गरी पहल गर्न सकेनन् ।
त्यसै त निकै पुरानो मैत्रीसम्बन्ध, त्यसमाथि बेलायतका लागि सयौं वर्षदेखि रगत बगाउँदै आएका गोर्खालीहरुको नाता । नेपालले बेलायतसंगको सम्बन्ध झनै प्रगाढ बनाउँदै उसबाट प्राप्त साथ र सहयोगको दायरा पनि बढाउँदै जानुपर्ने चुनौती नयाँ राजदूतसामु छ ।
समृद्धिको सपना देख्दै गरेको नेपालका लागि व्यापार र लगानीका क्षेत्रमा पनि बेलायतबाट अझै धेरै लाभहरु उठाउन सक्ने दिशामा काम गर्नुपर्ने जिम्मेवारी राजदूत रेग्मीको काँधमा छ । बेलायतबाट जाने अनुदान वा लगानी होस्, व्यापार सम्बन्ध वा पर्यटकहरुकै सवालमा किन नहोस्, विगतकै परम्पराको निरन्तरताभन्दा थप नयाँ सम्भावनाहरुको ढोका खोल्नुपर्ने चुनौती र अवसर दुवै नयाँ राजदूतसंग छ ।
आशामा छन् गोर्खा
अन्य देशका लागि जाने राजदूतभन्दा बढी बेलायत आउने नेपाली राजदूतले पाउने एउटा गह्रौं जिम्मेवारी हो गोर्खा मुद्धाको ।
समान अधिकारका लागि दशकौंदेखि संघर्षरत रहँदा पनि अझै टुंगोमा पुन नसकेको यो मुद्धालाई बेलायतसमक्ष नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गराउने महत्वपूर्ण काम बेलायतस्थित नेपाली राजदूतले गर्न सक्छन् ।
यअघिका राजदूत सुवेदीको पालामा दुवै देशबीच कुटनीतिक रुपमै धेरै कसरतहरु भए, तर निश्कर्ष निस्किन सकेन । त्यही निश्कर्ष दिलाउने कार्यमा नवनियुक्त राजदूतको अहम भूमिका रहने आशामा भूतपूर्व गोर्खाहरु छन् ।
समुदायसंगको सम्बन्ध
प्राविधिक रुपमा राजदूतका रुपमा अरु नै जिम्मेवारीहरु बढी महत्वपूर्ण होलान्, तर यहाँको नेपाली समुदायसंग उनले कायम गर्ने सम्बन्धले उनलाई काम गर्ने क्रममा सहज वा असहज बनाउन पक्कै भूमिका खेल्नेछ ।
यसअघिका राजदूत डा सुवेदी पनि बेलायत आएलगत्तै यहाँको नेपाली समुदायसंगको सम्बन्ध सुमधुर पार्न राम्रै कसरत गर्नुपरेको थियो । कतिसम्म भने समुदायको मन जित्ने क्रममा सुवेदीले शुरुमा व्यक्त गरेका आफ्नै केही प्रतिबद्धता र मान्यतालाई समेत परिमार्जन गर्दै अघि बढेका थिए । यहाँको ठूलो र विविधतायुक्त नेपाली समुदायमा सबैलाई समेट्ने र खुशी राख्ने काम पनि नयाँ राजदूतलाई एक चुनौती रहनेछ ।
डा सुवेदी र उनको टीमले उपलब्ध गराएको सेवाबाट यहाँका नेपालीहरु पूर्ण सन्तुष्ट थिए । त्यही ‘स्पिरिट’ लाई कायम राखेर अघि बढ्नुपर्ने जिम्मेवारी नयाँ राजदूतमा छ ।
नेपालको निजामती सेवामा अढाई दशक लामो सेवा गरेका नवनियुक्त राजदूत खारिएका प्रशासक हुन् । निजामती सेवाकै सर्वोच्च मुख्यसचिवसम्म पुगेका उनको अहिलेसम्मको अनुभव, क्षमता र कौशल अब कूटनीतिक नियोग प्रमुखका रुपमा जाँचिनेछ ।
नवनियुक्त राजदूत रेग्मीलाई कार्यकाल सफलताको शुभकामना !