शनिबार, वैशाख २२, २०८१
03:28 | ०८:१३

लन्डन दूतावासमा उठ्दैन टेलिफोन

महिनौंसम्म पनि टेलिफोन नउठेको सेवाग्राहीको गुनासो

नेपाली लिङ्क मार्च २, २०२१

लन्डन । केही वर्षअघि लन्डनस्थित नेपाली दूतावासमा टेलिफोन नउठ्ने ठूलो समस्या थियो । दूतावासको सेवा वा कुनै जानकारी, परामर्श लिने प्रयास गर्दा टेलिफोन नै नउठ्ने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार सुन्ने गरिन्थ्यो ।

लन्डन दूतावासमा टेलिफोन नउठ्ने वर्षौंअघिको यो पुरानो ‘रोग’ पछिल्लो समय फेरि बल्झिएको गुनासोहरु आउन थालेका छन् । महिनौंसम्म लगातार टेलिफोन गर्दा समेत सम्पर्क कायम गर्न नसकेको पीडा सेवाग्राहीले पोखेका छन् ।

कोभिड महामारीका बेला दूतावासमै जान नसकिने भएकाले नियमित सेवा आवश्यक पर्नेले पनि टेलिफोनबाटै बुझ्नुपर्ने अवस्था छ । त्यस्तै, महामारीपछि नेपाल जान मिलाइएको चार्टर उडानदेखि नेपाल सरकारले लगाएको यात्रा प्रतिवन्ध, बन्द गरिएको भिसा सेवा लगायतका कयौं विषयमा आधिकारिक जानकारी खोज्नेहरुले पनि दूतावासमै टेलिफोन गर्नुपरेको छ ।

तर दूतावासले आफ्नो वेबसाइटमा उपलब्ध गराएको नम्बरमा कार्यालय समयभित्रै टेलिफोन गर्दा समेत नउठ्दा सेवाग्राही निराश बनेका छन् ।

महिनौंसम्म पनि टेलिफोन नउठेको गुनासो

बेलायतको ब्रोम्बलीमा बस्दै आएका स्थानीय नेपाली समुदायका एक अगुवाले महिनौं अघिदेखि दूतावासमा टेलिफोन सम्पर्क गर्न खोज्दा पनि सफल नभएको बताए । नेपालमा आफ्नो जग्गाको कारोबार गर्न वारेसनामा बनाउने कामको लागि निरन्तर रुपमा अनगिन्ती पटक टेलिफोन सम्पर्क गरेको उनले सुनाए ।

‘दूतावासले दिएका तीन वटै नम्बरमा कतै उठ्दैन । कहिले इन्गेज्डको टोन बज्छ, धेरैपटक पूरै घन्टी बज्दा पनि उठ्दैन’, नेपाली लिंकसंग उनले भने, ‘महिनौंको प्रयासपछि बीचमा एकपटक फोन उठेको थियो । एकजना महिलाले फेब्रुअरी १५ पछि सम्पर्क गर्नु, अहिले काम बन्दैन भन्नुभयो ।’

दूतावासकै कर्मचारीको सुझावअनुसार फेब्रुअरी १५ पछि नियमित टेलिफोन गर्दै आएका उनी टेलिफोन उठ्दै नउठेपछि हरेश खाएर सोमबार दूतावास नै पुगे । दूतावासको ढोकामा गएर घन्टी बजाउँदा भित्रबाट ‘अपोइन्टमेन्ट लिएर मात्रै आउन मिल्ने’ बताइयो । ‘अपोइन्टमेन्ट लिनका लागि फोन नै उठ्दैन हजुर’ भन्दा ‘व्यस्त भएर हो, भ्याउँदाखेरि फोन उठ्छ’ भन्ने जवाफ फर्कियो ।

टेलिफोन नउठेर आजित बनिसकेपछि दूतावास नै पुग्दा समेत काम नबनेपछि निराश बनेका यी सेवाग्राही अब के पो गर्ने अन्योलमा छन् ।

उठेन प्रवक्ताको फोन

सेवाग्राहीको यही गुनासोबारे जानकारी गराउन र प्रतिक्रिया लिन नेपाली लिंकले सोमबार लन्डन दूतावासकी प्रवक्ता समेत रहेकी उपनियोग प्रमुख रोशन खनालको नम्बरमा तीनपटकसम्म सम्पर्क गर्दा पनि उठेन ।

केही महिनाअघि अरु केही सेवाग्राहीले दूतावासको टेलिफोन नउठ्ने गुनासो गरेको सुनाउँदा प्रवक्ता खनालले प्राविधिक समस्या भएको र त्यसलाई ‘फिक्स’ गरिसकिएको बताएकी थिइन् । टेलिफोन व्यस्त रहेका बेला टेलिफोन लागे जसरी घन्टी बज्ने गरेका कारण सेवाग्राहीमा टेलिफोन बजेर पनि नउठेको भ्रम परेको उनको भनाइ थियो ।

तर सुल्झियो भनेको महिनौंपछि पनि टेलिफोन नउठ्ने समस्या कायम देखिएको छ ।

आशा गरौं, सोमबार मात्रै कार्यभार सम्हालेका नवनियुक्त राजदूत लोकदर्शन रेग्मीको ध्यान सेवाग्राहीले भोग्दै आएको यो समस्यामा जानेछ र समाधान खोजिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू