बुधबार, वैशाख १२, २०८१
16:33 | २१:१८

अल्डरसटमा मधुमेह र छारे रोगका बिरामीले बिना ‘अपोइन्टमेन्ट’ खोप पाउने

नेपाली लिङ्क मार्च १, २०२१

लन्डन । बेलायतको अल्डरसटमा ‘डाइबेटिज एन्ड इपिलेप्सी’ (मधुमेह र छारे रोग) का बिरामीहरुले बिना अपोइन्टमेन्ट कोभिड खोप पाउने भएका छन् ।

अल्डरसटको प्रिन्सेस हलस्थित खोप केन्द्रबाट आउँदो शुक्रबार मधुमेह र छारे रोगका बिरामीलाई खोप उपलब्ध गराउन लागिएको जानकारी अल्डरसटका काउन्सिलर उम्मेदवार जीव बेल्वासेले दिए ।

अल्डरसट खोप केन्द्रको नेतृत्व गरिरहेकी डा लुइस पेनसंग सोमबार बिहान भएको छलफलपछि बेल्वासेले नेपाली लिंकसंग भने, ‘मधुमेह र छारे रोगका बिरामीलाई अपोइन्टमेन्ट आवश्यक पर्नेछैन । सिधै आएर खोप लिन सक्नुहुन्छ ।’

यो सुविधा कुनै निश्चित उमेर समूहमा सिमित मात्र नगरी सबैको लागि लागू हुने बेल्वासेले बताए । तर मधुमेह र छारे रोगका केस हुनेबाहेक अरुलाई अपोइन्टमेन्ट आवश्यक पर्नेछ ।

बेलायतमै सबैभन्दा बढी नेपालीको बसोबास रहेको अल्डरसटमा यसअघि ६० वर्ष माथिका सबैलाई बिना अपोइन्टमेन्ट खोप प्रदान गरिसकिएको छ ।

भूपू गोर्खा समुदायलाई लक्षित गरी स्थानीय समुदायका अगुवाहरुको पहलमा नेपालीहरुका लागि विशेष व्यवस्था मिलाइएको थियो ।

खोपको डेलिभरी पर्खिरहेका कारण अहिले अल्डरसटमा खोप वितरण रोकिएको छ । बिहीबार खोप डेलिभरी आउने र शुक्रबार वितरण सुचारु गर्ने योजना छ ।

अल्डरसट खोप केन्द्रमा स्थानीय नेपाली समुदायका अगुवाहरु पनि निरन्तर स्वयमसेवकका रुपमा खटिएका छन् । खोप केन्द्रका स्वास्थ्यकर्मी र स्वयमसेवकका लागि कयौं नेपालीले निशुल्क खाना वितरण पनि गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू