बुधबार, वैशाख १२, २०८१
15:19 | २०:०४

मगर संघ यूकेले मनायो मगर एकता तथा प्रथम शहीद लखन थापा स्मृति दिवस

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२१

लन्डन । मगर संघ यूकेले शनिबार ३९ औं मगर एकता दिवस तथा १४४ औं प्रथम शहीद लखन थापा स्मृति दिवस एकसाथ मनाएको छ । अध्यक्ष सुनिल रानाको अध्यक्षतामा भर्चुअल कार्यक्रम गरि ति दिवस मनाइएको हो ।

भर्चुअल कार्यक्रम मगर संघ यूकेको फार्नबोरोस्थित मगर भवनमा नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम पुन मगर र प्रथम शहीद लखन थापा मगरको फोटोमा माल्यार्पण र दीप प्रज्वलन गरि शुरु गरिएको थियो ।अध्यक्ष सुनिल रानाले दीप प्रज्वलन गरी कार्यक्रम ऊद्घाटन   गरेका थिए भने उपाध्यक्ष छविमाया पुन र ट्रस्टी गोमा रानाले माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघका 
संस्थापक सचिव सुरेश आलेमगरले मन्तव्य दिंदै विश्वभरका मगरहरुबीच एकतामा जोड दिए । उनले मगरहरु 
संगठित हुन के कति संघर्ष गर्नु परयो आदिबारे बताउंदै अहिले मगरहरुको सञ्जाल विश्वव्यापी भएको बताए । आलेमगरले आफूले रोपेको विरुवा वृक्ष झैं बढेकामा खुशी व्यक्त गर्दै मगरहरु अहिले नेपालमा मात्र होइन, विश्वभर छरिएर रहेका र मगर अन्तर्राष्ट्रिय महासंघमा ३२ देश आवद्ध भएको समेत उल्लेख गरे । उनले अन्य देशमा भएका मगरहरुलाई पनि महासंघमा आवद्ध हुन आव्हान गरे ।

मगर संघ यूकेका महासचिव रुद्र थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक उपाध्यक्ष राम गलामी मगरले स्वागत मन्तव्य व्यक्त गरे ।

दुई सय बढी सहभागी उक्त कार्यक्रममा मगर संघ यूकेका १३ शाखाका अध्यक्ष र प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा मगर संघ यूकेका भ्रातृ र आवद्ध संघसंगठनहरु मगर महिला संघ यूके, पुन मगर समाज यूके, पुन समाज यूके, खामवासी मगर समाज यूके, मगर वुद्धिष्ट सोसाइटी यूके, मगर बिजनेश फोरम यूके, मगर इन्भेष्टमेन्ट ग्रुप यूके, मगर युवा संघ यूके, गोर्खा जिल्ला मगर समाज यूके, पैयुं खोला मगर समाज यूके प्रतिनिधिले पनि शुभकामना दिए ।

त्यसैगरि, एनआरएनए यूके उपाध्यक्ष तथा मगर संघ यूकेका सल्लाहकार प्रेम गाहामगर र संस्थाका पूर्व अध्यक्ष एवं संरक्षकहरुले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा मगर युवा संघकी उपाध्यक्ष यमुना आलेमगरले मगर दिवसको इतिहासबारे बताइन् भने नायिका मिरुना मगरले प्रथम शहीद लखन थापाको व्यक्तित्व र योगदानबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा संस्था र समाज भित्र राम्रा काम गरेवापत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यसैगरि, संस्थाको विभिन्न पदमा नयां जिम्मेवारी लिनेलाई स्वागत तथा कार्यकाल सकिएकालाई धन्यवादसहित विदाइ गरिएको थियो ।

कार्यक्रममा ‘के टु’ हिमाल आरोही निर्मल पूर्जा र उनको नेपालस्थित सम्पूर्ण टिमलाई वधाइ तथा शुभकामना पनि दिइयो । संस्थाले नेपाली तथा मगर कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण एवं समाजमा राम्रो काम गरेवापत क्याप्टेन उमेश पुन (कोलचेष्टर), विषन थापा (प्लमस्टिड), दीपक थापा माइथाने (वेम्ली), टिकाराम दर्लामी (रेडिङ), होम रोकामगर (कोषाध्यक्ष), किशोर राना (युथ अध्यक्ष) र मिफ्रंङ युवा क्लवलाई समेत सम्मान गरेको छ ।

सपना रोकामगर र हरि बुढामगरलाई आर्थिक सहयोग

उता, कार्यक्रममा बीबीसीको एकसय प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरलाई मगर संघ यूके र मिफ्रंङ युवा क्लवको संयुक्त पहलमा सपनाको वृत्ति विकास तथा उच्च शिक्षाका लागि झण्डै ३ लाख रुपैयां संकलन गरिएको छ । सहयोग रकम उठ्ने क्रम जारी रहेकाले थप रकमसहित रोकामगरलाई पछि हस्तान्तरण गरिने महासचिव रुद्र थापाले नेपाली लिंकलाई जनाए ।

त्यसैगरि युद्धमा दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा हरि बुढामगरको सगरमाथा चढ्ने प्रोजेक्ट कन्क्वेयर ड्रिमका लागि पनि मगर संघ यूकेले ६ हजार एकसय ११ पाउण्डको चेक हस्तान्तरण गरेको छ । बुढामगर आउंदो वर्ष सन् २०२२ को मेमा चढ्ने योजनामा छन् ।

कार्यक्रमको दोश्रो चरणमा विगत वर्षहरुमा मगर दिवसमा देखाइएको मगर कला संस्कृति, भेषभूषा आदि झल्काउने १२ शाखा, भ्रातृ र आवद्ध संस्थाहरुको झांकी तथा नृत्यहरु जुममै प्रस्तुत गरिएको थियो । मगर फेशन शोका क्लिप पनि देखाइएको थियो ।

सोको संयोजन सांस्कृतिक सचिव सरु राना मगरले गरेकी थिइन् । अन्त्यमा, अध्यक्ष सुनिल रानाले धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू