शनिबार, वैशाख ८, २०८१
01:25 | ०६:१०

वेल्सको जनगणनामा नेपालीको सहभागिता बढाउन पहल हुने

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२१

लन्डन । बेलायतमा यही मार्च २१ तारिख हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिता बढाउन विशेष अभियान चलाइने भएको छ ।  

एनआएएनए वेल्स राज्य परिषदका अध्यक्ष कृष्ण भण्डारीले वेल्सका सबै नेपाली संस्थाहरुको प्रतिनिधित्व रहेको एक समूह बनाइ जनगणनामा नेपालीहरुको सहभागितालाई प्रभावकारी पार्न छलफल र सहकार्य गरिने बताए । 

जनगणनामा नेपालीको सहभागिताका विषयमा एनआरएनए वेल्स राज्य समन्वय परिषदको आयोजनामा सम्पन्न एक अन्तरक्रियामा अध्यक्ष भण्डारीले स्थानीय संघसंस्थाको सहयोग नभइ जनगणनामा व्यापक सहभागिता सम्भव नभएकाले सबैलाई जुट्न अनुरोध गरे । 

कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेका डा. कृष्ण अधिकारीले बेलायतको कानुनअनुसार बसोबास गर्ने सबैले जनगणनामा भाग लिनैपर्ने र जनगणनामा भाग नलिइएको थाहा पाएमा १ हजार पाउण्डसम्म जरिवाना र कालोसूचीमा राखिन सक्ने जानकारी गराए   

जनगणनामा भरिएका विवरणहरु सरकारका कुनै पनि निकायले १०० वर्षसम्म हेर्न नपाउने कानुनले नै ग्यारेन्टी गरेकाले ढुक्क भएर फाराम भर्न उनले अनुरोध गरे । जनगणना फारम  भर्दा इथ्निसिटी समूहमा र मुख्य भाषाको प्रश्नमा ‘नेपाली’ उल्लेख गर्न  डा. अधिकारीले अपील गरे । 

‘इथ्निसिटीको प्रश्नमा नेपाली नलेखी अन्यथा लेखिएमा आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो’ उनले भने । जनगणनाका बारेमा नेपाली समुदायबीच प्रचारप्रसार गर्न र सहयोग चाहिने समुदाय र परिवारलाई सहयोग गर्न अपील समेत उनले गरे । 

वेल्सका कम्ब्रान, ब्रेकन, आभरगाबेनी, कार्डिफलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका नेतृत्वको उपस्थिति थियो । सहभागीहरुले जनगणनाका विविध प्रक्रिया र नेपाली समुदायले कसरी सहभागिता जनाउने भन्ने बारेमा जिज्ञासा राखेका थिए । ती प्रश्नहरुको जवाफ डा. अधिकारीले दिएका थिए । छलफलको सहजिकरण एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए । 

कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, नेप्लिज सोसाइटी वेल्सका अध्यक्ष नीरलाल मोक्तान, ब्रेकन नेप्लिज कम्युनिटीका कार्यवाहक अध्यक्ष मेजर गुप्तमान गुरुङ, एनआरएनए वेल्स राज्य समितिका उपाध्यक्ष अमृत घले, वेल्स गोर्खा कम्युनिटी, कुम्ब्रानका अध्यक्ष खिम क्षेत्री, बद्री योङ्या, भोजनारायण रेग्मी, अमर मल्ल, पदम पुन, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल लगायतले आफ्ना विचार राखेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू