मंगलबार, वैशाख ४, २०८१
14:48 | १९:३३

बेलायतमा घट्दै कोरोनाका मृतक, थप २१५ को मृत्यु

९ हजार ८३४ नयां संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा २१५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धेरै समयपछि मृतक संख्यामा यति धेरै कमी आएको हो । यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ५८० पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बितेको २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि १० हजार भन्दा कममा झरेको छ । पछिल्लो तथ्याँक अनुसार ९ हजार ८३४ जना नयां संक्रमित थपिएका छन् ।  थपिएका नयां संक्रमितसंगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख १५ हजार ५०९  पुगेको छ ।

बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजारको  हाराहारीमा पुगेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि  घटेर दुई हजार ४६९ मा झरेको छ ।

एक करोड ७५ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७५ लाख बढीले खोप लगाएका छन् ।

आइतबारसम्म सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७५ लाख ८२ हजार १२१ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख १५ हजार १४८ जनाले दोस्रो डोज समेत लिइसकेका छन् ।

हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । कोरोना संक्रमणदर घटेसंगै हाल जारी लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् ।

प्राप्त जानकारी अनुसार लकडाउन तीन तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू