शनिबार, वैशाख ८, २०८१
01:45 | ०६:३०

अल्डरसट खोप केन्द्रमा चाइना ओरियन्टल सुपरमार्केटको निशुल्क भोजन

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२१

लन्डन । बेलायतको अल्डरसटस्थित चाइना ओरियन्टल सुपरमार्केटले स्थानीय कोभिड खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र स्वयमसेवकलाई निशुल्क भोजन गराएको छ ।

प्रिन्सेस हलमा राखिएको खोप केन्द्रका स्वास्थ्यकर्मी र स्वयमसेवक गरी कुल ४० जनालाई चाइना ओरियन्टलले बिहीबार निशुल्क लञ्च वितरण गरेको कम्पनीका निर्देशक कमल कोने गुरुङले नेपाली लिंकलाई जानकारी दिए ।

प्रिन्सेस हल खोप केन्द्रको संयोजन गरिरहेका साम टस्लर र आसन्न स्थानीय निर्वाचनका काउन्सिलर उम्मेदवार एवम् ग्रेटर रशमेर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासेको आग्रहमा खाना उपलब्ध गराइएको उनले बताए ।

‘महामारीका बेला हाम्रो समुदायको सेवामा खटिएका स्वामस्थ्यकर्मी र स्वयमसेवकहरुप्रति हामी धेरै आभारी छौं । उनीहरुको कडा मेहनत र योगदानको कदर गर्दै आभार प्रकट गर्ने कोशिस् हामीले गरेका छौं’, गुरुङले भने ।

स्थानीय बेलायती समुदायका स्वास्थ्यकर्मीहरुमाझ नेपाली खानालाई चिनाउने अवसर समेत ठानेर मौलिक नेपाली मम बाँडिएको उनको भनाइ छ । खानाको तयारी र वितरणमा सहयोग गर्ने श्रीमती जयन्ती गुरुङ र अल्डरसटको फ्रयांकीज क्याफेका प्रोपाइटर राजन गुरुङप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छान् ।

बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बस्ती रहेको अल्डरसटस्थित प्रिन्सेस हल खोप केन्द्रबाट सयौं नेपालीले कोभिड खोप लिएका छन् । स्थानीय भूपू गोर्खाहरुको समस्यालाई ध्यानमा राखेर नेपालीहरुको लागि केन्द्रमा विशेष सुविधा समेत मिलाइएको छ ।

खोप केन्द्रमा स्वयमसेवाका लागि नेपाली समुदायका अगुवाहरु निरन्तर खटिरहेका छन् । यसअघि अन्य केही नेपाली व्यवसायीले पनि खोप केन्द्रका स्वास्थ्यकर्मी र स्वयमसेवकलाई खाना वितरण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू