शनिबार, असोज ३०, २०७८
06:47 | ११:३२

प्रेमिल साँझमा डुबे बेलायतका स्रष्टा दम्पतीहरू

अमित याक्थुङ्वे फ्रेब्रवरी १६, २०२१

आसफोर्ड, यूके । करिब एक हप्ताअघि बेलायतको पूर्वी दक्षिणी भेगमा पर्ने केन्टमा भारी हिमपात भयो । कठ्याङ्ग्रिदो चिसोले  जनजीवन प्रभावित पारिरहेको समयमा भने एक हूल स्रष्टाहरू भने आफ्नो जोडीसँग प्रेमिल मुद्रामा देखा परे ।

आइतबार प्रणय दिवसका दिन विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले प्रेम सिर्जना वाचन कार्यक्रममार्फत् आधा दर्जन बढी स्रष्टा दम्पतीहरूलाई उभ्यायो । सहसचिव एवम् कवि लाहाङ चेम्जोङले कार्यक्रम थालनी गरेलगत्तै सङ्गीतकर्मी थिर थापा मगरलाई डाके । करिब चार वर्ष यता टाढा रहेकी आफ्नी पत्नी टुगा थापालाई समर्पित गर्दै उनले रोमान्टिक गीत गाए । काठमाडौँबाटै भर्चुअल रूपमा जोडिएकी थापा पत्नी हर्षित भइन् । उनले त्यहीँबाट थिरलाई रातो गुलाबको फूल देखाइन् । दुवैको वार्तालाप हेरेर सहभागी सबै दंगदास परे । त्यसपछि, सचिव अमित थेवेको पालो आयो ।

पाङग्राको गोलाइ, पृथ्वीको घुमाइ

पानीको यात्रा, जीवनको जात्रा

भनेकै घुमिरहनुरहेछ ।

मेरो शीरमा पनि

तिम्रै तस्वीर घुमिरहेछ फनफनी ।’

कविता सुनाउँदै तीन वर्षभन्दा बढी समययता भेट नभएकी धरानमा रहेकी आफ्नी जोडी शान्ति धिमाललाई कवि थेवेले भर्चुअल माध्यमबाटै फूल र उपहार दिए । सँगै छोटो प्रेमपत्र सुनाए । यति सुनेपछि उनकी पत्नीको आँखा एकाएक रसाएर आयो । उनले पनि थेवेलाई याक्थुङ लिम्बु समुदायमा अत्यन्तै अर्थपूर्ण मानिने साँस्कृतिक चिन्ह सिलाम साक्मा अर्पण गरिन् । यो दृश्यले एकैछिन सबैलाई भावुक बनायो । 

माहोललाई गह्रौँ हुन नदिन सञ्चालक चेम्जोङले तत्कालै स्रष्टा सञ्वीव पारदर्शीलाई बोलाए । ब्रिटिस गोर्खा सैनिकका रूपमा कार्यरत पारदर्शीले जागिरमै रहेको प्रमाण दिँदै सैन्य वर्दीमै गीतकार पत्नी सुष्मा रुपाबुङका लागि भन्दै गजल सुनाए । काखमा रहेकी दुई महिनाकी छोरी सिरिफालाई समात्दै सुनेकी रुपाबुङ मुस्कुराइन् ।

स्रष्टाहरूलाई हौसला दिन अध्यक्ष विजय हितानले आकस्मिक अतिथिका रूपमा निम्त्याएका कवि प्रज्ज्वल अधिकारी कीर्तिपुरबाट झुल्किए । उनले प्रेमको कुनै सीमाना नहुने बताउँदै आफ्ना दुई रचना सुनाएर बिदा भए । उनीपछि कवि औँतारी साइला तम्तयार भए । उनले प्रणय दिवसकै शीर्षकमा कविता सुनाए । उनी पछि, विनेसाम पश्चिम यूकेबाट देवी आले रचना लिएर आइन् । त्यसपछि, पश्चिमबाटै अध्यक्ष लालसुन्दर राईले एक थान कविता पस्के। जीत छन्त्यालले पनि आफ्नो सिर्जना सुनाए ।

घाम डुब्दै गइरहेको बेला सर्जक सुरेन्द्र इङनामले बाँसुरी निकाले । र, ‘यति चोखो यति मिठो दिऊँला तिम्लाई माया’ गीतको बोलमा औँला नचाए । उनले गीति कविता पनि थपे ।  

भ्यालेन्टाइन डे त यस्तो होस्

साँचो मायामा छेकबार नहोस्

जात, धर्म र वर्गको विभेद नहोस्’

कवि विश्वासदीप तिगेलाले पनि आफ्नी धर्मपत्नी भोजकुमारी थोक्लेनलाई साक्षी राखेर केही पङ्क्तिका गाँठो फुकाले । उनीपछि कवि थेवेले सञ्चालक चेम्जोङको नाम लिए ।  

त्यो दिन नबोलेरै,

तिमी उकालो लाग्यौ

म ओरालो झरेँ ।

तिम्रो धमिलो चेहरा सम्झेर

चम्किलो बनाउन केही समय लाग्यो ।’

​‘क्रसको सम्झनामा’ कविता सुनाउँदै उनले विवाहअघि हुने भौतिक आकर्षणबारे आफ्ना अनुभव शेयर गरे । कार्यक्रमलाई बिट मार्नुअघि विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले आफ्नी पत्नी एवम् कार्यक्रमका परिकल्पनाकार कल्पना हितानलाई बोलाए । प्रथम महिलाको उपस्थितिमा उनले ‘हिउँको सिन्दूर’ सुनाए । 

कार्यक्रममा उपस्थित भएका बीएफबीएसका निर्देशक समेत रहिसकेका खेम गुरुङले स्रष्टाहरूको परिवारमा प्रेमको भावना दर्शिएको देखेर आफूमा बेग्लै उत्साह आएको प्रतिक्रिया दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू