शुक्रबार, वैशाख १४, २०८१
22:30 | ०३:१५

बेलायत लकडाउनबाट बाहिरिने ‘रोडम्याप’ आगामी साता घोषणा हुने

चरणबद्ध योजना ल्याउने सरकारको तयारी

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२१

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायत सरकारले अहिले लागू देशव्यापी लकडाउनबाट बाहिरिने ‘रोडम्याप’ आगामी साता सार्वजनिक गर्ने भएको छ ।  

फेब्रुअरी २२ तारिख सोमबारका दिन प्रधानमन्त्री जोन्सनले अहिले कार्यान्वयनमा रहेका प्रतिवन्धहरु चरणबद्ध रुपमा हटाउँदै जाने मिति घोषणा गर्ने भएका छन् ।  

सोमबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा प्रधानमन्त्री जोन्सनले देशलाई महिनौँ लामो लकडाउनबाट मुक्ति दिएर सामान्य जनजीवनमा फर्काउने सम्बन्धी सरकारको मार्गचित्र सार्वजनिक गरिने बताए । मार्च ८ देखि स्कुलहरु सुचारु गर्ने घोषणा गरिसकेका उनले भने, ‘त्यसपछि चरणबद्ध रुपमा क्रमश लकडाउन खुकुलो पार्दै जाने योजना ल्याउने हाम्रो तयारी छ ।’

सरकारले लकडाउनबाट बाहिरिनका लागि ल्याउने मार्गचित्र ‘कन्डिसनल’ हुने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । ‘अस्पताल भर्ना हुने संक्रमित र दैनिक ज्यान गुमाउने मृतक संख्या जस्ता अवस्थाहरुमा सुधार नआउँदासम्म लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना रहन्न,’ उनले भने ।  

पछिल्ला दिनमा संक्रमण घट्दै जानु सुखद रहेको भन्दै उनले लकडाउन र कोभिड खोप दुवैको प्रभाव सकारात्मक देखिएको बताए । ‘तर अहिले पनि अस्पताल भर्ना भएका संक्रमितको संख्या पहिलो लकडाउनको बेलाभन्दा अझै वढी छ’, उनले भने, ‘त्यसैले सतर्कता थप जरूरी छ ।’

यसैबीच, बेलायत सरकार लकडाउनबाट बहिर्गमनको रणनीति तय गर्न व्यस्त रहँदा सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरुले मे महिनाभित्रै लकडाउन अन्त्य गर्ने दिशामा अघि बढ्न सुझाव दिएका छन् । ६ दर्जन सांसदहरुले सरकारलाई एक ज्ञापनपत्र बुझाएर देशवासीलाई सक्दो चांडो लकडाउनबाट मुक्ति दिलाउन माग गरेका छन् ।  

लकडाउन र खोप वितरणका सहायताले महामारी नियन्त्रणमा ठूलो उपलब्धि हासिल भइसकेको प्रधानमन्त्री जोन्सनले बताए । यो लकडाउन नै अन्तिम लकडाउन बन्नेमा आफू आशावादी रहेको बताउँदै उनले हतारमा लकडाउन हटाउंदा पछि फेरि संक्रमण दोहोरिने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको पनि बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू