शनिबार, वैशाख ८, २०८१
16:28 | २१:१३

कोभिडलगत्तै निमोनियाले आमा बितेपछि अभियन्ता शान्तिको परिवार शोकमा

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२१

लन्डन । बेलायतस्थित नेपाली समुदायकी एक अग्रज अभियन्ता शान्ति थापा कुंवरलाई मातृशोक परेको छ । थापाकी ७९ वर्षीया आमा यमकली थापाको कोभिड संक्रमणपछि उपचारकै क्रममा निधन भएको छ ।

कोभिड संक्रमण भएर दुई साताअघि अल्डरसटनजिक फ्रिमली पार्क अस्पताल भर्ना भएकी थापाको शनिबार राती साढे ११ बजे निधन भएको छोरी शान्तिले नेपाली लिंकलाई जानकारी दिइन् ।

‘कोभिड लागेर अस्पताल भर्ना हुनुभएको हो । अस्पतालमा केही दिन बसेपछि कोभिड निको भएर घर ल्याउने तयारी हुंदै थियो । त्यही बेला फेरि श्वासप्रश्वासमा समस्या शुरु भयो । कोभिड निको भएपनि निमोनियाका कारण उहाँको निधन भयो भनेर अस्पतालले हामीलाई बताएको छ’, उनले भनिन् ।

बेलायतको नर्थ क्याम्पमा कान्छी छोरी शिवानीसंग बस्दै आएकी यमकलीका पूर्व गोर्खा पतिको झण्डै १० वर्षअघि नै निधन भइसकेको छ । उनका तीन छोरी र एक छोरामध्ये दुई छोरी बेलायतमा छन् भने एक छोरी र छोरा नेपालमै छन् । जेठी छोरी शान्ति थापा कुंवर बेलायतको नेपाली समुदायमा सुपरिचित सामाजिक अभियन्ता हुन् । एनआरएनए आइसीसी सदस्य, एनआरएनए यूके उपाध्यक्ष लगायतका जिम्मेवारी उनले निर्वाह गरिसकेकी छन् ।

नेपालमा भैरहवा घर भएकी स्वर्गीय थापा विगत डेढ दशकदेखि बेलायतमै बस्दै आएकी थिइन् । उनलाई यसअघि गम्भीर खालका अन्य कुनै स्वास्थ्य समस्या नरहेको परिवारले बताएको छ ।

स्वर्गीय थापा गुल्मी जिल्ला समाज यूकेमा आजीवन सदस्य थिइन् । उनको निधनमा समाजका तर्फबाट अध्यक्ष टोप पल्लीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू